अचेल सामाजिक सञ्जाल हाम्रो दैनिकीको हिस्सा बनिसकेको छ । खुसीका क्षण, पारिवारिक, साथीभाइ भेटघाटको सम्झना, बालबालिकाका रमाइला क्षण सेयर स्वाभाविक लाग्छ । तर, बालबालिकाको फोटो सामाजिक सञ्जालमा राख्दा त्यसबाट हुने दीर्घकालीन असरबारे सोच्नु अत्यन्त आवश्यक छ ।
सामाजिक सञ्जालमा फोटो राख्दा कतिपय सेलिब्रेटीले आफ्ना छोराछोरीको फोटो ब्लर गरेका हुन्छन् वा अनुहार ढाकेका हुन्छन् । कतिपयले सामाजिक सञ्जालमा आफ्ना बच्चाको फोटो, भिडियो सामान्य रूपमै राख्ने गरेको हुन सक्छ । सामाजिक सञ्जालमा फोटो देखाउने कि नदेखाउने व्यक्तिगत छनोटका कुरा हुन् । तर, सानो उमेरदेखि नै बालबालिकालाई प्लेटफर्म दिइरहनुभएको छ भने उसले आउने दिनमा पनि त्यस्तै खालका कुरा खोज्ने सम्भावना धेरै हुन्छ ।
जस्तै– पहिलो दिन सामाजिक सञ्जालमा राखेको उसको फाेटोमा तीन सय लाइक आयो भने दुई दिनपछि राखेको फोटोमा कम लाइक आउँदा उसलाई सामान्य नलाग्न सक्छ । उसलाई मैले केही नराम्रो गरेँ कि, लुगा लगाएको मिलेन कि, अनुहार मिलेन कि, वातावरण नै पो मिलेन कि भन्ने हुन सक्छ । जसले बच्चामा छिटो एन्जाइटीका लक्षण आउन सक्छन् ।
कसैले सामाजिक सञ्जालमा बालबालिकालाई प्रयोग गरेर पैसा पनि कमाउनुभएको छ । उहाँहरूलाई यसको हानिबारे भन्दा नराम्रो लाग्न पनि सक्छ । यदि तपाईंले बालबालिकालाई इन्टरनेटमा एक्सपोज गरिरहनुभएको छ भने केही न केही एन्जाइटीका लक्षण बढ्न सक्छ । त्यो कुरा सबैमा लागू हुन्छ भन्नेचाहिँ हुँदैन । गत डिसेम्बरदेखि अस्ट्रेलियामा १६ वर्षभन्दा मुनिका बालबालिका तथा किशोरकिशोरीका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको छ । सरकारले बालबालिकालाई हानिकारक सामग्रीबाट बचाउन यो कदम चालिएको बताएको छ । प्रतिबन्ध उल्लंघन भएमा कम्पनीलाई सवा तीन करोड अमेरिकी डलरसम्म जरिवाना तिराउने भनेको छ । हाम्रै छिमेकी देश भारतमा पनि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरिँदै छ । फिलिपिन्स, इन्डोनेसियाजस्ता देशमा पनि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न नीति ल्याइँदै छ ।
सामाजिक सञ्जालमा फोटो, भिडियो हाल्नुभन्दा अघि अभिभावक सतर्क हुनुपर्छ । बालबालिकालाई इन्टरनेटमा उपलब्ध सबै कुरा ठिक हुँदैन भन्ने कुरा बुझाउनुपर्छ । सामाजिक सञ्जालमा राखिएको फोटोकै आधारमा व्यक्ति र अवस्थाबारे सबै भन्न सकिने अवस्था हुँदैन । यसबारे बालबालिकालाई अभिभावकले बुझाउन सक्नुपर्छ ।
सामाजिक सञ्जाल प्रयोगले सबैलाई हानि गर्दैन । सबैलाई राम्रो पनि गर्दैन । अभिभावकले बालबालिकालाई सहभागी बनाएर कन्टेन्ट बनाउनुभएको छ भने ती बालबालिकाले अझै धेरै ती कुरा खोज्न सक्छन् । मानसिक स्वास्थ्यका दृष्टिकोणबाट भन्ने हो भने उनीहरूमा एन्जाइटी र डिप्रेसन बढ्न सक्छ ।
बालबालिकाले आफ्नो गोपनीयताको अर्थ बुझ्ने उमेर नपुग्दै उनीहरूको व्यक्तिगत जीवन सार्वजनिक भइरहेको हुन्छ । एउटा फोटो वा भिडियोले बालबालिकाको पहिचान, स्थान, विद्यालय, बानी–व्यवहारजस्ता धेरै जानकारी बताएको हुन्छ । जसका कारण गलत व्यक्तिले त्यस्ता सामग्री दुरुपयोग गर्ने जोखिम पनि रहन्छ ।
बालबालिकाले राम्रो वा नराम्रो छुट्याउन नसक्ने वेलादेखि नै अभिभावकले सामाजिक सञ्जालमा फोटो राख्नु उचित होइन । धेरैजसो अवस्थामा बालबालिकाले आफूलाई कुन फोटो सार्वजनिक गर्न मन छ वा छैन भन्ने निर्णय गर्न सक्दैनन् । त्यसले उनीहरू हुर्कंदै जाँदा आफ्ना बाल्यकालका निजी क्षण इन्टरनेटमा फैलिएको देख्दा असहज महसुस गर्न सक्छन् । त्यसैले, अभिभावकले यो फोटो अहिले पोस्ट गर्दा भविष्यमा बच्चालाई कस्तो लाग्ला भन्ने सोच्न जरुरी हुन्छ । पाँच वर्षसम्मका बालबालिकाले सामाजिक सञ्जाल, फोटोबारे केही जानकारी पाउन सक्दैनन् । उमेर बढ्दै गएपछि त्यसमा प्रश्न गर्ने अवस्था रहन सक्छ ।