डाबरको मह बजारबाट फिर्ता गर्न आदेश

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री–वितरण भइरहेको डाबर नेपालको एक ब्याचको हनी (मह) उत्पादन फिर्ता गर्न आदेश जारी गरेको छ । साथै, म्याग्नेसियम ग्लाइसिनेट नामक आहारपूरक उत्पादनबारे पनि अनधिकृत बिक्री नगर्न चेतावनी दिएको छ ।

विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका क्रममा संकलित नमुनामा न्यूनस्तर पाइएको भन्दै सम्बन्धित ब्याचको सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो ।

विभागका अनुसार डाबर नेपालद्वारा उत्पादित हनीको ब्याच नम्बर एनबी००४७७ न्यूनस्तर पाइएपछि बजारबाट फिर्ता गर्न आदेश दिइएको छ । उक्त उत्पादनको विवरणअनुसार पाँच सय ग्राम प्याक साइजको हनी सन् २०२५ डिसेम्बरमा उत्पादन भएको र १८ महिनाको उपभोग्य अवधि रहेको जनाइएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याचका सबै उत्पादन बजारबाट तुरुन्त फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले आहारपूरक खाद्य पदार्थका रूपमा म्याग्नेसियम ग्लाइसिनेटसम्बन्धी विभिन्न सामग्री सामाजिक सञ्जालमा प्रचार भइरहेकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । सूचनाअनुसार म्याग्नेसियम ग्लाइसिनेट समावेश भएका कुनै पनि आहारपूरक खाद्य पदार्थ विभागमा दर्ता नभएको अवस्थामा त्यसको बिक्री–वितरण कानुनविपरीत हुनेछ ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार दर्ता नगरी आहारपूरक खाद्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ । विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमनलाई थप कडा बनाइने बताएको छ । न्यूनस्तर वा दर्ता नभएका उत्पादनहरू बिक्री भएको पाइएमा तत्काल कारबाही गरिने जनाइएको छ ।

See More On

सुझावित समाचार