लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँबिच शुक्रबार छलफल भएको छ। लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा संघीयताको सबलीकरणका लागि प्रदेश तहलाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल भएको बताइएको छ।
मुख्यमन्त्री आचार्यको सचिवालयका अनुसार अन्तरप्रदेश समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षबिच विचार आदान–प्रदान भएको हो। भेटका क्रममा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको नीति तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो।
प्रदेश प्रमुख मियाँले चालू आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा योजनाको समीक्षा गरेर मात्र आगामी योजना अघि बढाउन सुझाव दिए। उनले सम्पन्न भएका कामको उपलब्धि र सम्पन्न हुन नसकेका योजनाको कारण पहिचान गरेर प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताए।
भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।