उदयपुर सिमेन्ट उद्योगका कर्मचारी तलब माग्दै आन्दोलित

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

उद्योग बन्द भएपछि कामविहीन भएका उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत मजदुरहरू लामो समयदेखि तलब, सञ्चयकोष, नागरिक लगानी कोष तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। उद्योगको मुख्य गेटमा शुक्रबार बिहान धर्ना दिँदै पत्रकार सम्मेलन गरेर मजदुरहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र उद्योग व्यवस्थापनसमक्ष आग्रह गरेका हुन् ।

सम्पूर्ण मजदुर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देवनारायण झाले उद्योगका मजदुरलाई १४ महिनादेखिको तलब–ज्याला उपलब्ध नगराइएकाले आन्दोलनमा उत्रिनुपरेको बताए। उनले भने, ‘४५ महिनादेखि कर्मचारीको तलबबाट कट्टा गरिएको सञ्चयकोष रकम सम्बन्धित निकायमा जम्मा गरिएको छैन, ३५ महिनादेखि कट्टा गरिएको नागरिक लगानी कोष रकमसमेत रोकिएको छ । हामी काम गर्दै आन्दोलनमा होमिएका छौँ।’

सम्पूर्ण मजदुर संघर्ष समितिले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘उद्योगले तीन वर्षदेखिको बिमा प्रिमियम रकम पनि उपलब्ध नगराएको अवस्था छ।’ उद्योगबाट अवकाश प्राप्त कर्मचारी तथा मजदुरमध्ये आठजनाको मृत्यु हुँदा पनि अवकाशबापत पाउनुपर्ने सेवा–सुविधा नपाएको संघर्ष समितिको भनाइ छ ।

प्रेस नोटमा ०७८ सालदेखि अनिवार्य अवकाशमा गएका १३९ जना कर्मचारी तथा मजदुरले हालसम्म अवकाशबापत पाउनुपर्ने सेवा–सुविधा नपाएको उल्लेख गरिएको छ । साथै, सुरक्षागार्ड तथा दैनिक ज्यालादारीमा कार्यरत श्रमिकहरूको बाँकी तलबसमेत भुक्तानी नभएको जनाइएको छ ।

कर्मचारी तथा मजदुरहरूले तालुक मन्त्रालयमा पुगेर पटक–पटक ध्यानाकर्षण गराइसके पनि समस्या समाधानका लागि विश्वसनीय वातावरण नबनेको गुनासो गरेका छन्। सम्बन्धित निकायबाट समस्या समाधानतर्फ कुनै ठोस पहल नभएकाले पत्रकार सम्मेलन गर्न बाध्य भएको संघर्ष समितिको भनाइ छ ।

संघर्षरत कर्मचारी तथा मजदुरहरूले १४ महिनाको बाँकी तलब–ज्याला, सञ्चयकोष तथा नागरिक लगानी कोषमा कट्टा गरिएको रकम, बिमा प्रिमियम, अवकाश प्राप्त कर्मचारीहरूको सेवा–सुविधा तथा दैनिक ज्यालादारी र सुरक्षाकर्मीहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेका छन्। उदयपुर सिमेन्ट उद्योग हाल गएको फागुनदेखि बन्द रहेको छ ।

बन्द उद्योगको मजदुर तथा कर्मचारीलाई तिर्नुपर्ने दायित्व कति छ ?

उदयपुर सिमेन्ट उद्योगले गत वैशाख ११ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लेखेको पत्रअनुसार एक अर्ब चार करोड २४ लाख १३ हजार २८२ रुपैयाँ ६१ पैसा तिर्न बाँकी रहेको छ ।

अहिले त्यही रकम नपाएर उद्योगका मजदुरहरू आन्दोलित बनेका छन्। उक्त पत्रअनुसार कार्यरत कर्मचारीहरूको (२०८१ चैतदेखि ०८२ चैतसम्मको तलब) बाँकी दायित्व आठ करोड ८० लाख ५३ हजार ६६ रुपैयाँ, कर्मचारीहरूको दाखिला गर्न बाँकी सञ्चयकोष रकम नाै करोड ५० लाख ९९ हजार १३४ रुपैयाँ, कर्मचारीहरूको दाखिला गर्न बाँकी नागरिक लगानी कोषको रकम तीन करोड ६९ लाख ६६ हजार २२२ रुपैयाँ, उद्योग सञ्चालन भएको अवस्थामा अतिरिक्त कार्यसमय लगाई सोबापतको अतिरिक्त कार्यसमय भत्ता वापत बाँकी ७६ लाख चार हजार ३०९ रुपैयाँ रहेको छ ।

यस्तै, कर्मचारीहरूको दाखिला गर्न बाँकी तीन वर्षको बिमा रकम ६ करोड ६० लाख ८१ हजार ७४५ रुपैयाँ ९० पैसा, २०८० र २०८१ को बिदा मुआब्जाबापत बाँकी रकम एक करोड १५ लाख तीन हजार ७६६ रुपैयाँ, २०८० र २०८१ को सट्टा बिदाबापत बाँकी रकम आठ करोड १७ लाख ५८८ रुपैयाँ, ०८२ साउनदेखि ०८२ चैतसम्मको महँगी भत्ता ५४ लाख रुपैयाँ तथा गोरखाली योद्धा सेक्युरिटी प्रालिलाई ०८१ चैतदेखि ०८२ चैतसम्मको एक करोड ७१ लाख ८६ हजार ३५७ रुपैयाँ ६० पैसा गरी जम्मा ३२ करोड ८७ लाख १२ हजार १८८ रुपैयाँ ५० पैसा दायित्व रहेको छ ।

यता, अवकाशप्राप्त कर्मचारीहरूको दायित्व मात्र ७१ करोड ३७ लाख एक हजार ९४ रुपैयाँ ११ पैसा रहेको जनाइएको छ । अन्य दायित्व पनि भुक्तानी गर्न बाँकी रहेको उद्योगको भनाइ छ ।
 

सुझावित समाचार