हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले स्थापना भएको १३ वर्षमा आफूलाई स्थानीय तहमा समुदायमुखी खानेपानी व्यवस्थापनको सफल नमुनाका रूपमा स्थापित गरेको छ । बोर्डले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको प्रगति विवरणअनुसार हाल हेटौँडा उपमहानगरपालिकाका १७ वडाका करिब एक लाख ७० हजार नागरिकलाई नियमित खानेपानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
नेपाल खानेपानी संस्थानअन्तर्गत सञ्चालित हेटौँडा शाखाको सम्पत्ति तथा दायित्व ०७० साल जेठ ८ गते औपचारिक रूपमा बोर्डमा हस्तान्तरण भएपछि खानेपानी व्यवस्थापनको जिम्मेवारी स्थानीयस्तरमै आएको थियो। त्यसयता बोर्डले पाइपलाइन विस्तार, धारा जडान, मुहान संरक्षण, वितरण प्रणाली सुधार तथा पूर्वाधार विस्तारका कामलाई प्राथमिकतामा राख्दै सेवा प्रवाह गर्दै आएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । उनका अनुसार हाल बोर्डले वडा नम्बर १२ र १३ बाहेकका १७ वडामा २९ हजार ७०९ धारामार्फत दैनिक तीन करोड ७५ लाख लिटर पानी उत्पादन तथा वितरण गर्दै आएको छ । मुख्य बजार क्षेत्रमा २४सै घण्टा र अन्य क्षेत्रमा दैनिक औसत आठदेखि नाै घण्टा खानेपानी वितरण भइरहेको उनले बताए।
हाल बोर्डसँग सतहगत एक मुहान, ४० वटा डिप ट्युबेल र १९ वटा समवेल सञ्चालनमा छन्। पानी भण्डारण क्षमता आठ हजार ९५२ घनमिटर पुगेको छ भने करिब आठ सय किलोमिटर मेन तथा शाखा पाइपलाइन विस्तार भइसकेको अध्यक्ष विष्टले जानकारी दिए। उनका अनुसार प्रतियुनिट पानी उत्पादन लागत १३ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री लागत १९ रुपैयाँ ६० पैसा रहेको छ।
खानेपानीको पूर्वाधार विस्तारमा तीव्रता
बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले चालू आर्थिक वर्षमा विभिन्न पूर्वाधार निर्माण तथा स्तरोन्नतिका काम अघि बढाएको जानकारी दिए । उनका अनुसार हेटौँडा– १५, सानो सुकौलीमा एक लाख लिटर क्षमताको पानी ट्यांकी, वडा नम्बर १६ मा सार्वजनिक शौचालय, शाखा कार्यालय स्तरोन्नति तथा विभिन्न भवन र पर्खाल निर्माणको काम सम्पन्न भएको छ ।
यस्तै, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँगको सहकार्यमा बोर्ड परिसरमै अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । हेटौँडा– १६ शक्तिमा संघीय सरकार र बोर्डको सहलगानीमा नाै सय घनमिटर क्षमताका ६ वटा पानी संकलन ट्यांकी, समवेल तथा करिब ३.५ किलोमिटर पाइपलाइन विस्तारको काम सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँगको सहकार्यमा हेटौँडा–११, थानाभर्याङ–सिमलटार क्षेत्रमा दुईवटा समवेल, पालेघर तथा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको निर्देशक सापकोटाले बताए। उनले हाल हेटौँडा– ९, बेतखोल्ची डाँडामा ६ लाख लिटर क्षमताको पानी ट्यांकी, हेटौँडा– १४ मा डिप ट्युबेल तथा पाइपलाइन विस्तार, हेटौँडा– १५ मा तीन लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, रोटरी पम्पहाउसदेखि पिसपार्कसम्म करिब चार किलोमिटर जिआई पाइपलाइन विस्तार तथा बुङ्दल मुहानदेखि सामरी पुलसम्म पाइपलाइन सुधारको काम जारी रहेको जानकारी दिए ।
महसुल संकलनमा ९७ प्रतिशत सफलता
बोर्डले चालू आर्थिक वर्ष ०८२/८३ को वैशाख मसान्तसम्म पानी महसुल संकलनमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। बोर्डका अनुसार १२ करोड १५ लाख रुपैयाँ पानी महसुल बिलिङमध्ये ११ करोड ८७ लाख रुपैयाँ अर्थात् ९७.७० प्रतिशत रकम असुली भएको छ।
हाल उठ्न बाँकी महसुल १७ लाख दुई हजार रुपैयाँ मात्रै रहेको छ। उपभोक्ताले अग्रिम रूपमा ७१ लाख ६८ हजार रुपैयाँ पानी महसुल जम्मा गरेको बोर्डले जनाएको छ । समग्र आयतर्फ बोर्डले २४ करोड पाँच लाख ९७ हजार रुपैयाँ विनियोजनमध्ये वैशाख मसान्तसम्म १४ करोड ६६ लाख ५४ हजार रुपैयाँ अर्थात् ६०.९५ प्रतिशत आम्दानी संकलन गरेको छ ।
व्ययतर्फ कार्यालय सञ्चालन खर्च पाँच करोड १२ लाख रुपैयाँ, सेवा सञ्चालनतर्फ तीन करोड ३४ लाख रुपैयाँ तथा पुँजीगततर्फ तीन करोड ३३ लाख रुपैयाँ खर्च भएको छ। कुल बजेटको ४९.४ प्रतिशत अर्थात् ११ करोड ७९ लाख ८५ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ।
‘दिगो र गुणस्तरीय सेवा विस्तारमा केन्द्रित’
बोर्डले तीव्र सहरीकरणसँगै बढ्दो खानेपानी मागलाई सम्बोधन गर्न दीर्घकालीन योजना बनाएर अघि बढिरहेको जनाएको छ। डिजिटल बिलिङ प्रणाली, मिटर व्यवस्थापन तथा गुनासो सुनुवाइ प्रणालीलाई थप प्रविधिमैत्री बनाउने तयारी गरिएको छ। बोर्डले विपत्, बाढीपहिरो तथा खानेपानी अभावका समयमा वैकल्पिक वितरण प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।