सल्यानमा ५७७ बालबालिका अझै विद्यालयको पहुँचबाहिर

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

सल्यानमा आधारभूत तहका ५७७ बालबालिका अझै विद्यालयको पहुँचबाहिर रहेको पाइएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि आयोजित सहजीकरण कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । 

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सल्यानका अनुसार  जिल्लाभर कक्षा एकदेखि आठसम्म अध्ययन गर्ने उमेर समूहका ५७७ जना बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन्। अघिल्ला वर्षको तुलनामा विद्यालय छाड्ने (ड्रपआउट) बालबालिकाको संख्या घट्दै गए पनि हालको तथ्यांक अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

इकाइ प्रमुख शेरबहादुर रोकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै विद्यालयबाहिर रहेका बालबालिकाको संख्या घटाउन आवश्यक रहेको बताए। उनले बालबालिकाको पहिचान गरी अभिभावकसँग समन्वय गरेर स्थानीय तहहरूले भर्ना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। बालबालिकालाई विद्यालयभित्र कसरी ल्याउने, अभियानलाई अझ प्रभावकारी कसरी बनाउने र आगामी दिनमा शिक्षाको पहुँच विस्तारका लागि के–कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको रोकाले बताए । 

राेकाका अनुसार गरिबी, अभिभावकको चेतनाको कमी, बसाइँसराइ, बालश्रम तथा दुर्गम बस्तीका कारण अझै पनि केही बालबालिका विद्यालयबाहिर रहने अवस्था रहेको छ । यस्ता बालबालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय तह, विद्यालय र अभिभावकबिच समन्वय आवश्यक रहेको उनकाे भनाइ छ ।

सुझावित समाचार