नेपालको विद्युत् प्रसारण प्रणाली र विद्युत् आपूर्तिमा भएको समस्यालाई समाधान गर्न वैकल्पिक रूपमा रुफटप सोलार प्लान्टलाई प्रोत्साहन गर्नुपर्नेमा विज्ञ तथा व्यवसायीहरूले जोड दिएका छन् ।
बुधबार घामपावर र बिजनेस पानाले आयोजना गरेको ‘दी मिडिया राउन्डटेबल फर दी फ्यूचर’ कार्यक्रममा बोल्ने व्यवसायी तथा विज्ञहरूले रुफटप सोलार प्लान्टलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।
हाल नेपालभर ६० मेगावाट हाराहारीमा रुफटप सोलार विस्तार भएको छ, जुन राष्ट्रिय प्रसारण प्रणालीभन्दा बाहिर छ । विभिन्न होटेल, उद्योग तथा व्यक्तिहरूले व्यक्तिगत प्रयोजनका लागि छतमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति लिइरहेका छन् ।
त्यसलाई अझ प्रोत्साहन गर्नुपर्ने घामपावरका प्रमुख कार्यकारी अधिकृत एन्जल निरौलाले बताए । यसैगरी, लामो समयदेखि सोलार ऊर्जाको अध्ययनसमेत गर्दै आएको व्यवसायी सन्दीप शाहले रुपटफ सोलारलाई नियमनको दायरामा ल्याउनुपर्ने बताए ।