आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डलाई ६ विकेटले हराउँदै अमेरिका फेरि शीर्ष स्थानमा उक्लिएको छ । यसअघि त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई नै हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा पुगेको थियो । नेपालसँग स्कटल्यान्ड पराजित हुँदा अमेरिकालाई स्थान सुधार गर्ने अवसर मिल्यो ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन बनाएको थियो । अमेरिकाका रसिस उगारकारले सर्वाधिक चार तथा रौरभ नेत्राभल्करले तीन विकेट लिएपछि स्कटल्यान्डले ठुलो योगफल बनाउन सकेन । अमेरिकाले २७.१ ओभरमा चार विकेट गुमाउँदै जित निकाल्यो । जितपछि अमेरिकाको २७ खेलबाट ३८ अंक रहेको छ । स्कटल्यान्डको भने ३२ खेलबाट समान अंक रह्यो । रनरेटमा अमेरिका शीर्ष स्थानमा रहेको हो । ३१ अंकसहित ओमान तेस्रो स्थानमा छ । घरेलु टोली नेपाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा छ । अमेरिकाको जितमा ओपनर स्मिथ पटेल र साहन जाहागिरले समान सर्वाधिक ३७ रन बनाएका थिए ।
कप्तान साइतेजा मुक्कमल्लाले ३५ बलमा ३५ रनको योगदान गरे । सेहान जयसुरियाले १९ रन जोडे । मिलिन्द कुमार २४ तथा सुभम रन्जने ११ रनमा अविजित रहे । अमेरिकाले त्रिकोणात्मक सिरिजको शुक्रबार अन्तिम खेल नेपालसँग खेल्दै छ । स्कटल्यान्डले अघिल्लो भेटमा अमेरिकालाई डकवर्थ लुइसमा २ रनले पराजित गरेको थियो । पहिलो इनिङ्समा स्कटल्यान्डका लागि मार्क वाटले ओडिआई करिअरकै दोस्रो अर्धशतक बनाए । ६६ रन बनाउन वाटले ८५ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । वाटसँग छैटौँ विकेटका लागि म्याथ्यु क्रसले सर्वाधिक ४२ रनको साझेदारी गरेका थिए । क्रसले ५४ बलमा २० रन जोडे । वाटले एनपिएलमा कर्णाली याक्सबाट खेलेका थिए ।