निर्माणाधीन संसद् भवनको प्रतिनिधिसभा हलबाटै बजेट वाचन गर्ने तयारी

एक दिनका लागि हल तयार गर्ने र केही फिनिसिङका काम त्यसपछि सकेर असार मसान्तसम्म पूर्ण सञ्चालनमा ल्याउने योजना

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण
निर्माणाधीन संसद् भवनको प्रतिनिधिसभा हलबाटै बजेट वाचन गर्ने तयारी

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनभित्र प्रतिनिधिसभा भवनको हल तयार गरिँदै । तस्बिर : अमुल थापा

आगामी आर्थिक वर्षको बजेट सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनअन्तर्गत प्रतिनिधिसभाको हलबाटै वाचन गर्ने गरी तयारी भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार १५ जेठमा बैठक बस्ने गरी उक्त हल निर्माणको काम सकाउने कोसिस जारी छ । उक्त हल चार सय सिट क्षमताको छ ।

विभागका अनुसार संघीय संसद् भवनको समग्र भौतिक प्रगति ९६ प्रतिशत सकिएको छ । प्रतिनिधिसभा हलको मात्रै भौतिक पूर्वाधारतर्फ ९९ प्रतिशत प्रगति छ भने इन्टेरियर डिजाइन प्रगति ९६ प्रतिशत छ ।

विभागका प्रवक्ता रोशन श्रेष्ठले १५ गते संसद् चलाउने गरी हलको निर्माण कार्य सकाउने कोसिस भइरहेको बताए । उनले राष्ट्रिय सभाको हल पनि अन्तिम चरणमै रहेको बताए ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले १५ जेठमा बजेट प्रस्तुत हुने गरी एक दिनका लागि संयुक्त बैठक बस्न मिल्ने गरी हल उपलब्ध गराउने जानकारी निर्माण पक्षबाट आएको बताए । ‘तयार भइसकेको छैन । तर, बजेट वाचन गर्नका लागि संयुक्त बैठक बस्न सक्ने गरी उपलब्ध गराउँछौँ भनिरहेका छन् । कामको स्पिडले होलाजस्तो देखिन्छ । काम नसकिँदासम्म ठ्याक्कै भन्ने अवस्था छैन,’ उनले भने ।

प्रवक्ता गिरीले बजेट सकेपछि बाँकी केही काम त्यसपछि गर्ने गरी कुराकानी भैरहेको छ । ‘बजेट वाचन गरेपछि फेरि केही बैठक बहुउद्देश्यीय हलमै सञ्चालन हुन्छ,’ उनले भने, ‘त्यसपछि शीघ्र कार्यसम्पादन गरेर सम्भवतः असार मसान्तपछि प्रतिनिधिसभाको हल पूर्ण रूपमा सञ्चालनयोग्य हुने विश्वास छ ।’

१ असोज ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरेको संसद् भवन सात वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । जेन–जी आन्दोलनमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन आगजनी भएपछि अहिले संसद् सचिवालयसँग सदन सञ्चालन गर्न भवन छैन । समयमै नयाँ भवन निर्माण नहुँदा अस्थायी रूपमा काम चलाउनुपरेको छ । हाल प्रतिनिधिसभा बैठक निर्माणाधीन भवनको बहुउद्देश्यीय हलमा अस्थायी रूपमा र राष्ट्रिय सभा बैठक संसद् सचिवालयपरिसरमा रहेको कृषि समितिको हल मोडिफाई गरेर सञ्चालन भइरहेको छ ।

प्रवक्ता गिरीका अनुसार हाल हलको साउन्ड प्रुफ, सिट व्यवस्थापन, रोस्टमलगायत अगाडिको आवश्यक तयारी, इलेक्ट्रिसिटी र अन्य आवश्यक फर्निसिङ तथा फिनिसिङको काम भइरहेको छ । ‘दर्शकलगायत पत्रकार बस्ने सिटको व्यवस्थापन भइरहेको छ । सभाका सदस्य बस्ने स्थान पनि तीव्र गतिमा छ । सभामुखको सिट, रोस्टम र पोडियम द्रुत गतिमा छ,’ उनले भने ।

यसैगरी, अडियो सिस्टमको जडान र परीक्षणको कार्य भइरहेको छ । प्रतिनिधिसभाको नयाँ हलमा अब सबै सांसदलाई सिटमै आइप्याड सुविधा हुनेछ । ‘हरेक सदस्यको टेबलमा अगाडि रहने डिजिटल इन्रेक्टिभ सिस्टम, डिस्प्ले सिस्टम हुनेछ । जहाँबाट सदस्यले आफैँले हाजिर गर्ने, समय माग्न पाउने, भिडियो हेर्न पाउने सुविधा हुनेछ,’ प्रवक्ता गिरीले भने । गिरीले अहिले नै हल पूर्ण निर्माण हुने अवस्था नरहेको र संयुक्त बैठकपछि शीघ्र सम्पादन गर्ने जानकारी आएको बताए ।

प्रतिनिधिसभाको नयाँ हल आधुनिकता, नेपाली वास्तुकला शैली, पछिल्लो प्रविधिको प्रयोग भएको सुविधासम्पन्न नेपाली परम्परा र शैली झल्किने रहेको प्रवक्ता गिरीले बताए । ‘अर्को यो संसद्को आफ्नै भवन हो । योभन्दा अगाडि ग्यालरी बैठक पनि अन्य प्रयोजनका लागि बनेकामा पछि संसद् बस्यो । पछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अन्य प्रयोजनलाई भएकामा संसद् बस्यो,’ उनले भने ।

प्रवक्ता गिरीले हल तयारी हुँदैगर्दा संसद् सचिवालयले बजेट वाचनको संयुक्त बैठकको तयारी थालेको बताए । सचिवालयले सिट व्यवस्थापन प्रचलित अभ्यासअनुसारै गर्नेछ । सत्तापक्ष दायाँतर्फ, सरकार बिचमा र विपक्षी बायाँतर्फ रोमा राख्ने गरी सिट व्यवस्थापन हुनेछ । ‘दुवै सभाको संयुक्त बैठक हुँदा दलगत राख्ने प्रचलन छ । दर्शक, पत्रकार, आमन्त्रण गरेका पाहुनालाई अलग्गै व्यवस्था गर्छौँ,’ प्रवक्ता गिरीले भने, ‘साथै, सभामुख र अध्यक्ष कताबाट जाने, हाजिरी कुन–कुन ठाउँमा राख्ने, सुरक्षा र इलेक्ट्रिसिटी व्यवस्थापन एवं विकल्प र सभा सञ्चालनको डेमो पनि गर्छौँ ।’ प्रवक्ता गिरीले केही दिनअगावै हल प्राप्त भए तयारीमा सहजता हुने पनि बताए । ‘अलिकति अगाडि उपलब्ध हुँदा सहज हुन्छ,’ उनले भने । 

कस्तो बन्दै छ संसद् भवन ? 
सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा आठवटा ब्लक छन् भने १२ वटा छुट्टाछुट्टै भवन छन् ।  जसमा चार सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रिय सभा छ । यी दुवैका बिचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देब्रेतर्फ प्रतिनिधिसभा छ ।

मुख्य भवनसँगै सहायक भवन छन् । जहाँ संसदीय दलको कार्यालय, समितिको हल, दुइटा संसद् सचिवालय भवन, पुस्तकालय, संग्रहालय र चमेनागृहलगायत छन् । भिभिआइपीका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँसहित आवश्यक सबै सेवा समेटिने संरचना तयार हुँदै छ ।

राष्ट्रिय महत्व बोकेको भवनको डिजाइन स्ट्रक्चरल, आर्किटेक्चर, इलेक्ट्रिकल र स्यानिटरी पक्ष समायोजन गरेर भूकम्पीय हिसाबले समेत सुरक्षित बनाइँदै छ । राष्ट्रिय भवन संहिताअनुसार निर्माणाधीन भवनमा मौलिकता झल्काउने नेपाली शैली पनि देख्न पाइनेछ ।

मल्लकालीन वास्तुकलालाई प्रतिनिधित्व गर्ने गरी भवन बनिरहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ । ठेकेदार कम्पनी टुदी सेप जेभीले पाँच अर्ब ३९ करोड लागतमा भवन बनाउँदै छ । 

सुझावित समाचार