‘रोल नं. १’ले ल्यायो दर्शकका लागि नयाँ स्किम

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

चलचित्र ‘रोल नं. १’ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो । निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अफर ल्याएको हो । 

यो प्रतिस्पर्धाका लागि चलचित्र ‘रोल नं. १’सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ ।  प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । आफ्नो वास्तविक स्कुलजीवनको कथा सुनाउनुपर्नेछ ।  

कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्त्व,  गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झना, सपना र लक्ष्य तथा संघर्ष र मिहिनेतलगायत विषय समेट्न सकिनेछ। 

भिडियो छोटो, मिठो र भावुक बनाउने हुनुपर्नेछ। भिडियो १–३ मिनेटभित्र सक्नुपर्नेछ। सिर्जनात्मक प्रस्तुति दिनुपर्नेछ । भिडियोमा स्पष्ट आवाज हुनुपर्नेछ । सबै उमेरका व्यक्ति यो प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्। भिडियो टिकटक, फेसबुक र इन्स्टाग्राममा राख्न सकिनेछ। 

प्रथम हुने विजेताले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार २० जना सहभागीले ‘रोल नं. १’को एक–एकवटा टिकट पाउनेछन् । विजेता घोषणा जेठ २५ गते गरिनेछ । 

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं. १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ ।

सुझावित समाचार