मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ। प्रसाईंका समर्थकहरूले मंगलबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्साअगाडि प्रदर्शन गर्दै उनको रिहाइको माग गरेका हुन्।
सोमबार अपराह्न सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका प्रसाईंलाई राति करिब ८:३० बजे सिद्धार्थ दियालो लर्डस् होटेलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।
पत्रकारहरूसँगको भेटघाटमा उनले सरकारको तीव्र आलोचना गरेपछि उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार प्रसाईंको मंगलबार बिहान गहवामाई दर्शन गर्ने कार्यक्रम तय गरिएको थियो। त्यसपछि वीरगन्जको मेनरोड विस्तारका क्रममा तोडफोडमा परेका घरधनी तथा पीडितहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको थियो।