भूमि प्रशासन कार्यालय उदयपुरले नौ महिनाको अवधिमा झन्डै १३ करोड राजस्व संकलन गरेको छ। आर्थिक मन्दी र बजार सुस्तताका बिच केही समय थलिएको घरजग्गा कारोबार पुनः सक्रिय बन्दै जाँदा पनि चालू आर्थिक वर्षको नौ महिनाका बिचमा १२ करोड ८० लाख ८ हजार ८१ रुपैयाँ राजस्व संकलन गरेको हो।
भूमि प्रशासन कार्यालय उदयपुरको चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो नौ महिनामै १२ करोड ८० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको तथ्यांक छ। कार्यालयका अनुसार उक्त तथ्यांक साउनदेखि चैत मसान्तसम्मको हो।
कार्यालय प्रमुख डुबिन्द्रप्रसाद बरालका अनुसार सबैभन्दा ठुलो राजस्व संकलन घरजग्गा रजिस्ट्रेसनबाट आएको छ। घरजग्गा रजिस्ट्रेसनबापत मात्रै ९ करोड २४ लाख २८ हजार १२ रुपैयाँ संकलन भएको छ। त्यस्तै, पुँजीगत लाभकरबाट ३ करोड ५४ लाख ६८ हजार ८८४ रुपैयाँ र विविध शीर्षकबाट १ लाख ११ हजार १८५ रुपैयाँ राजस्व उठेको बरालले जानकारी दिए ।
कार्यालयले चालू आर्थिक वर्षको राजस्व संकलन गत वर्षकै हाराहारीमा रहेको जनाएको छ। यसले आर्थिक गतिविधिमा अपेक्षित गिरावट नआएको र नागरिकहरू सम्पत्ति व्यवस्थापन तथा लगानीमा अझै सक्रिय रहेको बताइएको छ। घरजग्गा कारोबारमा आउने उतारचढावले स्थानीय अर्थतन्त्र, बैंकिङ क्षेत्र, निर्माण व्यवसाय र राजस्व प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले यसलाई आर्थिक सूचकका रूपमा लिने गरिन्छ।
संकलित राजस्वको लाभ स्थानीय र प्रदेश सरकारसम्म प्रत्यक्ष पुग्ने गरेको छ। कानुनी व्यवस्थाअनुसार घरजग्गा रजिस्ट्रेसनबाट उठेको राजस्वमध्ये ६० प्रतिशत सम्बन्धित स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारलाई बाँडफाँट हुने गर्दछ।
भूमि प्रशासन कार्यालय उदयपुरले सेवा प्रवाहलाई थप छिटो, सहज र पारदर्शी बनाउन डिजिटल प्रणालीको प्रयोग, अभिलेख व्यवस्थापनमा सुधार तथा प्रशासनिक प्रक्रियालाई व्यवस्थित गर्ने प्रयास गरिरहेको कार्यालय प्रमुख बरालको भनाइ छ।