सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– ११ बाट प्रहरीले विशेष सूचनाको आधारमा दुई क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैयाबाट खटिएको टोलीले शनिबार राति ११ वटा बोरामा प्याक गरिएको २७६ किलोग्राम गाँजा बरामद गरेको हो।
कर्जन्हा नगरपालिका कार्यालयदेखि करिब तीन सय मिटर उत्तर–पश्चिम झाडीमा बेवारिसे अवस्थामा गाँजा बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
उनका अनुसार बरामद भएको गाँजा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याएर थप अनुसन्धान भइरहेको छ। बरामद भएको गाँजा तस्करहरूले चुरे क्षेत्रआसपासका गाउँ र चुरेपारि उदयपुरबाट संकलन गरी भारततर्फ लैजान राखेको हुन सक्ने आशंका गरिएको छ।
एक महिनामा १० जना पक्राउ
पछिल्लो वैशाख महिनामा जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटबाट खटिएका गस्ती टोलीले जिल्लाका विभिन्न ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ।
तथ्यांकअनुसार उक्त अवधिमा २० किलो चार सय ग्राम गाँजा, ४७ ग्राम ८२ मिलिग्राम ब्राउनसुगर, ८१ थान अन्य औषधिजन्य लागुऔषध नाइट्राजिपाम आइपी ट्याब्लेट बरामद गरी लागुऔषधसम्बन्धी नौवटा मुद्दा चलाइएको छ।