पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तमोर नदीमाथिको मोटरेबल पुलमा लामो समयपछि ट्रस जडानको काम सुरु भएको छ । आठ वर्षअघि निर्माण थालिएको उक्त पुलमा शुक्रबारदेखि ट्रस जडान सुरु भएपछि स्थानीयवासीमा खुसी छाएको छ । तर, बर्खायाम सुरु भइसकेकाले काम समयमै सम्पन्न हुनेमा अझै आशंका कायमै छ ।
पूर्वीनेपालको मेरुदण्डका रूपमा हेरिएको तमोर करिडोर सडकअन्तर्गत ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– १, निघुरादिन र पाँचथरको हिलिहाङ गाउँपालिकाअन्तर्गत अमरपुरको आङबुङ जोड्ने लिम्बुनीस्थित पुल लामो समयदेखि अलपत्रजस्तै बनेको थियो । निर्माण कम्पनी एमएस सपना याक्थुङ जेभीले अबको २० देखि २५ दिनभित्र ट्रस जडान सम्पन्न गर्ने दाबी गरेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि तेजकुमार कुरुम्बाङका अनुसार ट्रस जडानका लागि आवश्यक सामग्री, उपकरण र जनशक्ति तयारी अवस्थामा छन् । कामलाई निरन्तरता दिँदै तोकिएकै समयमा ट्रस जडान सक्ने लक्ष्य रहेको उनले बताए ।
पुल निर्माणले गति लिएसँगै स्थानीय तहका जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । वर्षौँदेखि पुलकै कारण अवरुद्ध बनेको यातायात अब सहज हुने अपेक्षा गरिएको छ ।
यद्यपि, स्थानीयवासी भने पूर्ण रूपमा ढुक्क छैनन् । बर्खा सुरु भइसकेकाले तमोर नदीमा पानीको बहाव बढ्ने र बाढी आउने जोखिम रहेकाले काम फेरि प्रभावित हुन सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।
तमोर करिडोर सडक दुवैतर्फ निर्माण सम्पन्न भइसके पनि पुल नबन्दा पाँचथरको पञ्चमीदेखि ताप्लेजुङको निघुरादिन–फूलबारी खण्डसम्म सवारी सञ्चालन हुन सकेको छैन । यात्रु तथा स्थानीयवासी वर्षौँदेखि जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।
०७४ फागुनमा २२ करोड पाँच लाख ७७ हजार ८९० रुपैयाँमा ठेक्का सम्झौता भएको पुल निर्माण सुरुदेखि नै सुस्त गतिमा अघि बढेको थियो । स्थानीयका अनुसार निर्माण कम्पनीले वेला–वेलामा मात्रै काम गर्दै आएको र निरन्तरता नदिँदा आठ वर्ष बितिसक्दा पनि पुल तयार हुन सकेको छैन ।
पछिल्ला वर्षहरूमा आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु (दिपेन), प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि तथा अन्य सरोकारवालाले निर्माण कम्पनी र तमोर करिडोर सडक योजनामाथि निरन्तर दबाब बढाउँदै आएका थिए । चौतर्फी दबाबपछि गत वर्षदेखि निर्माण कम्पनी केही सक्रिय बनेको हो ।
अध्यक्ष पोमुका अनुसार गत वर्ष पुल निर्माणकै क्रममा आएको बाढीले ठेकेदार कम्पनीलाई ठुलो क्षति पुर्याएको थियो । नेपाल, भारत र चीन जोड्ने छोटो मार्गका रूपमा हेरिएको तमोर करिडोरका लागि यो पुललाई रणनीतिक महत्त्वको पूर्वाधारका रूपमा हेरिएको छ ।