‘अ-विधवा’ विमर्श कार्यक्रम काठमाडौंमा सम्पन्न

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाहलमा बहुविधाका साहित्यकार गोविन्द गिरी प्रेरणाको नयाँ लामा कथासंग्रह ‘अ-विधवा’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा समालोचक दयाराम श्रेष्ठ सम्भवले गोविन्द गिरी प्रेरणाको पहिलो लामा कथासंग्रह ‘गन्तव्य गणबहाल’का आठवटै कथा लामा कथाको संरचनामा रहेको उल्लेख गर्दै ‘अ-विधवा’मा आफूले अध्ययन गरेका दुई कथासमेत लामा कथाकै संरचनामा रहेको बताए।

समालोचक अशोक थापा ले ‘अ-विधवा’का कथाहरू शक्तिशाली रहेको टिप्पणी गर्दै कथाहरू पढ्दै जाँदा बन्दागोभीका पत्रहरू खुल्दै गएझैँ नयाँ–नयाँ तहहरू उद्घाटित हुने र कथामा लामो कालखण्डको विस्तार पाइने बताए।

त्यसैगरी ज्ञानु अधिकारी ले ‘अ-विधवा’ शीर्षक सुरुमा आफूलाई असहज लागेको भए पनि कथाभित्र नारी पात्रहरू सशक्त रूपमा प्रस्तुत गरिएको र समग्र कथामा महिला पात्रहरू कमजोर रूपमा नआएको पक्ष प्रशंसनीय रहेको बताइन्।

कार्यक्रमको प्रारम्भमा श्रीओम श्रेष्ठ रोदनले कथाकार गोविन्द गिरी प्रेरणाको कथा लेखन यात्राबारे चर्चा गर्दै प्रेरणा बहुविधामा सफल स्रष्टा भएको बताए।

कथाकार गोविन्द गिरी प्रेरणाले आफू कथा लेखनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्नो लेखन यात्रा निरन्तर सिकाइको यात्रा भएको धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन यादव भट्टराईले गरेका थिए। उनले कथाकार प्रेरणाको कथालेखन यात्राको फेहरिस्तसमेत प्रस्तुत गरेका थिए । 

सुझावित समाचार