ताप्लेजुङका सामुदायिक विद्यालयमा पछिल्लो समय अंग्रेजी माध्यमबाट पठनपाठन, प्रविधिमैत्री शिक्षण तथा शैक्षिक नतिजामा सुधार देखिन थालेपछि विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको छ । जिल्लाका केही विद्यालयले निजी विद्यालयसरह सुविधा र गुणस्तरीय शिक्षा दिन थालेपछि सामुदायिक विद्यालयप्रतिको विश्वाससमेत बलियो बन्दै गएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका– ४ स्थित भानुजन माध्यमिक विद्यालयले अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट पठनपाठनलाई प्रभावकारी बनाएको छ । विद्यालयले बालमैत्री वातावरण, नियमित अतिरिक्त कक्षा तथा प्रविधिको प्रयोगमा जोड दिएपछि विद्यार्थी भर्नाका लागि आन्तरिक परीक्षामार्फत छनोट गरी भर्ना लिन थालेको छ ।
विद्यालयका प्रधानाध्यापक किशोर राईका अनुसार परीक्षा नलिने हो भने विद्यालयले धान्नै नसक्ने गरी विद्यार्थी भर्नाका लागि आउने गरेका छन् । त्यसलाई व्यवस्थापन गर्न पनि परीक्षा लिएर मात्र भर्ना गर्नुपर्ने अवस्था आएको उनले बताए ।
प्रधानाध्यापक राईले सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिन सकिने भएकाले अभिभावकको आकर्षण बढ्दै गएको बताए । ‘विश्वासका साथ विद्यालय व्यवस्थापन अघि बढाएका छौँ, त्यसैले पनि नयाँ विद्यार्थीको चाप बढेको हो,’ उनले भने । यस वर्ष विद्यालयमा तीन सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना गरिएको उनले जानकारी दिए । ‘विनाशुल्कमै राम्रो शिक्षा दिन सकिन्छ भन्ने विश्वास अभिभावकमा दिलाएका छौँ,’ राईले बताए ।
त्यसैगरी मैवाखोला गाउँपालिका– २ स्थित मैवाखोला माध्यमिक विद्यालयमा पनि निजी विद्यालयबाट करिब दर्जनौँ विद्यार्थी भर्ना हुन आएको विद्यालयका शिक्षक कमल पौडेलले जानकारी दिए । विद्यालयले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न अतिरिक्त कक्षा, नियमित मूल्यांकन तथा अनुशासनमा विशेष जोड दिएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका अनुसार पछिल्लो समय निजी विद्यालय छाडेर सामुदायिक विद्यालय रोज्ने अभिभावकको संख्या बढ्दो छ । विद्यालयमा शैक्षिक वातावरण सुधार भएसँगै विद्यार्थीको नियमित उपस्थितिमा पनि वृद्धि भएको बताइएको छ । यस वर्षको शैक्षिक नतिजाले पनि ताप्लेजुङका सामुदायिक विद्यालयप्रतिको विश्वास बढाएको छ ।
हालै प्रकाशित नतिजाअनुसार जिल्लाका धेरै सामुदायिक विद्यालयले निजी विद्यालयभन्दा राम्रो नतिजा ल्याएका छन् । विशेषगरी निजी विद्यालयभन्दा बढी अंक ल्याएर बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी गस्तिहाङ पालुङवा प्रथम भएपछि सामुदायिक विद्यालयप्रति अभिभावकको ध्यान अझ बढी केन्द्रित भएको छ ।
शिक्षा क्षेत्रमा सक्रिय सरोकारवालाले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको नतिजा राम्रो आउनु सकारात्मक संकेत भएको बताएका छन् । उनीहरूका अनुसार शिक्षकको मिहिनेत, स्थानीय तहको लगानी तथा अभिभावकको बढ्दो चासोका कारण सामुदायिक विद्यालयको शैक्षिक स्तर क्रमशः उकासिँदै गएको छ ।
स्थानीय अभिभावकले पनि सामुदायिक विद्यालयमा गुणस्तरीय पठनपाठन हुन थालेपछि आफ्ना बालबालिकालाई निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमै भर्ना गर्न थालेका छन् । कम खर्चमा राम्रो शिक्षा र उत्कृष्ट नतिजा प्राप्त हुन थालेपछि सामुदायिक विद्यालयप्रति विश्वास बढ्दै गएको अभिभावकहरूको भनाइ छ । ताप्लेजुङ जिल्लामा हाल ६० वटा माध्यमिक विद्यालय रहेका छन् ।