सशस्त्र प्रहरी बल नेपाल सिराहाको गस्ती टोलीले शनिबार राति तस्करी गरेर भारततर्फ लैजाँदै गरेको करिब ४० लाख रुपैयाँबराबरको सामानसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाबाट खटिएको ३५ जनाको गस्ती टोलीले राति करिब पौने नाै बजेतिर जिल्लाको सीमावर्ती नवराजपुर गाउँपालिका– ५, देवनगरबाट उक्त सामानसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
हेडक्वार्टर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार स.१ ख ५३५ नम्बरको टाटा टुटन गाडीमा सामान लोड गरी लुकाइछिपाइ नेपाल हुँदै भारततर्फ लैजाँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।
विभिन्न कस्मेटिक सामग्री, मञ्जन (टुथपेस्ट), ओखरलगायतका सामान बोकेर भारततर्फ जाँदै गरेको गाडीसहित नवराजपुर गाउँपालिका–५ का करिब ५० वर्षीय राजेशकुमार यादव र स्थानीय करिब ३९ वर्षीय आनन्द यादवलाई नियन्त्रणमा लिइएको उनले बताए।
उनका अनुसार पक्राउ परेका दुवैजना, गाडी तथा बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि माडर भन्सार कार्यालय बुझाउने तयारी गरिएको छ।