साढे सात वर्षसम्म पनि बनेन कोल्डस्टोर : सातपटक थप गरिएको म्याद मंसिरमै सकियो ठेकेदार कम्पनीलाई हर्जाना, पेस्की जफत

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

कैलालीको धनगढी उपमहानगरपालिका– १८, फूलबारीमा साढे सात वर्षअघि सुरु गरिएको चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणको काम अझै पूरा भएको छैन । दुई हजार मेट्रिकटन क्षमताको यो कोल्डस्टोर निर्माण भए कैलाली र कञ्चनपुरका दर्जनौँ किसान लाभान्वित हुने थिए । तर, कोल्डस्टोर नहुँदा यहाँका किसानले सिजनमा उत्पादन गर्ने तरकारी र फलफूल भण्डारणको समस्या उस्तै छ ।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले कोल्डस्टोर निर्माणका लागि रविना कन्स्ट्रक्सनसँग १८ मंसिर ०७५ मा निर्माण सम्झौता गरेको थियो । सम्झौताको सर्तअनुसार १७ मंसिर ०७७ भित्रै काम सकिनुपर्ने हो । ११ करोड ९६ लाख ४२ हजार रुपैयाँ लागतको यो कोल्डस्टोर निर्माणका लागि निर्धारितभन्दा झन्डै तीन गुणा बढी समय र सातपटक म्याद थप भइसकेको छ ।

सातौँपटक थप गरिएको अवधि पनि गत मंसिरमा सकिएको छ । अहिलेसम्म भौतिक प्रगति करिब ८८ प्रतिशत रहेको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले जनाएको छ । पटक–पटक म्याद थप गरेर निर्माण अवधि बढाउँदै लगिए पनि काम पूरा नगरेपछि गत पुसबाट कार्यालयले कम्पनीलाई हर्जाना लगाएको छ भने फागुनमा पेस्की जफत गरेको छ । 

कार्यालयका अनुसार भवन निर्माणको काम निर्माण कम्पनीले पहिले नै गरेको थियो । अहिले चिस्यान गर्ने मेसिन र र्याकहरू ल्याइसकिएको छ भने जडान गर्न बाँकी छ । पहिले नै बनाएकाले जीर्ण भएका भवनका पेटी, ब्लकहरू मर्मतको काम बाँकी छ । ट्रान्समिटर राख्नेलगायत विद्युत् जडानको काम पनि बाँकी रहेको कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीको लापरबाहीका कारण लामो समयसम्म काम पूरा नभएको संघीय सहरी विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए । निर्माण कम्पनीले तदारुकता देखाए बाँकी काम केही दिनमै सकिने उनले बताए । ‘निर्माण कम्पनीले भन्नलाई भारतबाट मेसिनरी सामान ल्याउन ढिलो भयो भन्छ, तर काम नगरेकै कारण समयमै सम्पन्न नभएको हो,’ उनले भने, ‘अहिले पनि काम गरेजस्तो मात्र छ, तीव्रता दिएको छैन ।’

निर्माण कम्पनीको बैंक ग्यारेन्टी तान्ने प्रक्रिया पनि अगाडि बढेको इन्जिनियर कलौनीले जानकारी दिए । उनका अनुसार १२० दिनसम्म सम्झौता रकमको दैनिक ०.०५ प्रतिशत हर्जाना लगाउन पाउने व्यवस्थाअनुसार निर्माण कम्पनीले आगामी असारसम्म काम पूरा गरिसक्नुपर्नेछ । त्यस अवधिमा पनि काम पूरा नगरे ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राखिने कार्यालयले जनाएको छ । कार्यालयले हालसम्म आठ करोड २९ लाख १२ हजार रुपैयाँ भुक्तानी दिएको छ ।

धनगढी र आसपास कोल्डस्टोर नहुँदा यहाँका किसानले सिजनमा उत्पादन हुने आलु, प्याजलगायत तरकारी तथा फलफूलहरू भण्डारण गरेर राख्न पाउँदैनन् । धनगढी– १८, फूलबारी नुक्लीपुरमा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान प्रेम खड्काले कोल्डस्टोर नहुँदा कृषिउपजले बजार मूल्य पाउन नसकेको गुनासो गरे । सिजनमा मूल्य पाउन गाह्रो हुने गरेको र बेसिजनमा बेच्नका लागि भण्डारणको समस्या रहेको उनले बताए ।

कोल्डस्टोर निर्माण भए धनगढी मात्र नभए योसँग जोडिएका र नजिक रहेका कञ्चनपुरको दक्षिणी क्षेत्रका किसानले पनि लाभ लिन सक्नेछन् । धनगढी– १८ का अध्यक्ष भुवन रिजालले कोल्डस्टोरको काम समयमै सक्नका लागि वडा र पालिका तहबाट पनि पटक–पटक आग्रह गरिएको बताए । ‘कोल्डस्टोरको भवन संरचना बनिसकेको छ, अब धेरै काम पनि बाँकी छैन, जतिसक्दो चाँडो सञ्चालनमा ल्याइनुपर्छ,’ वडाध्यक्ष रिजालले भने ।

कैलाली ५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्दले निर्माण कम्पनीले काम नगर्ने हो भने ठेक्का तोडेर जानुको विकल्प नभएको बताए । ‘किसानले सिजनमा आफूले उत्पादन गरेको तरकारीको उचित मूल्य पाउँदैनन् । भण्डारण गर्न नपाउँदा बिक्री नभएर फाल्नुपर्ने अवस्था पनि छ । तर, बेसिजनमा त्यही तरकारी भारतबाट बढी मूल्यमा ल्याउनुपर्छ,’ चन्दले भने, ‘धेरै किसानलाई लाभ हुने यो कोल्डस्टोर जतिसक्दो चाँडो सञ्चालनमा ल्याइनुपर्छ । निर्माण कम्पनीले अब काम नगर्ने हो भने ठेक्का तोडेर कारबाही प्रक्रिया अगाडि बढाउनका लागि सरकारसँग पहल गर्छौँ ।’

सुझावित समाचार