राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथांका सडकखण्ड द्रुत गतिमा निर्माणाधीन अवस्थामा रहेको छ । यही जेठको दोस्रो साताभित्र किमाथांकासम्म सिधा यातायातको सुविधा जोडिने उत्तर-दक्षिण कोशी सडक आयोजनाको कार्यालयले जनाएको छ । पछिल्लो डेढ वर्षयता खाँदबारी–किमाथांका सडक निर्माणको कामले गति लिएको हो ।
त्रिदेशीय लिंकको रूपमा रहेको भारत–नेपाल–चीन जोड्ने जोगमुनी–खाँदबारी–किमाथांका सडकखण्डअन्तर्गत संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथांकासम्म १६२ किमि सडक निर्माणको कामले गति लिएपछि संखुवासभाबासी नागरिकहरु खुसी भएका छन् । उत्तर-दक्षिण कोशी सडक आयोजनाको आयोजना प्रमुखको रूपमा इन्जिनियर रामबहादुर गुरुङ आएपछि निर्माण कार्यले गति लिएको हो ।
पछिल्लो समयमा खाँदबारी–किमाथांका सडकखण्डको काम सन्तोषजनक रूपमा प्रगतिउन्मुख रहेको उत्तर-दक्षिण कोशी सडक आयोजना प्रमुख रामबहादुर गुरुङले बताए । उनले खाँदबारी–नुम ३९ किमि सडक कालोपत्रे गर्ने ठेक्का पाएको शर्मा शिवशक्ति जेभीले निर्माण कार्यमा ढिलाइ गर्दा कामको प्रगति देखिएको थिएन । त्यसपछि शर्मा शिवशक्ति जेभीका मुख्य पार्टनर शर्मा कम्पनी एक्लैले कामको जिम्मेवारी लिएपछि सडक निर्माणमा प्रगति देखिएको कार्यालय प्रमुख गुरुङले बताए । ‘यो आर्थिक वर्षको अन्त्य असारसम्म २८ किमि सडक कालोपत्रे भइसक्ने अवस्था छ । हालसम्म खाँदबारी लभिङहिल–थामसेर्कु पहिलो खण्डमा ५८ प्रतिशत प्रगति भएको छ भने दोस्रो खण्ड थामसेर्कु–देउराली ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने तेस्रो खण्ड देउराली–नुम ७० प्रतिशत काम भएको छ।
गुरुङले भने,‘नुम–दोभान फयाक्सिन्दा सडकमा सिंह–शिवशक्ति–विवश–ड्रागन जेभीले कालोपत्रेको काम गरिरहेको छ भने भौतिक प्रगति ६५ प्रतिशत देखिएको छ। त्यसपछि दोभानदेखि बरुणसम्म ९५ प्रतिशत प्रगति भएको छ । बरुण–हुङहुङ भौतिक प्रगति कमजोर भइ ३५ प्रगति मात्रै रहेको छ। हुङहुङ–च्याम्ताङ ५५ प्रतिशत प्रगति छ । च्याम्ताङ–घोङगोप्पाको १०.८१ किमि सडक सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरिसकेको छ । अब घोङघोप्पा देखि किमाथांकाको १२ किमि सडक स्तरोन्नति गरी जेठ दोस्रो साताभित्र गाडी किमाथांका पुग्छ ।’
यही असारसम्म खर्च गर्ने गरी चार अर्ब २ करोड रुपैयाँको अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएकाले हौसिएको कार्यालय प्रमुख गुरुङले बताए । उनका अनुसार, बहुवर्षीय योजनाअनुरूपमा फ्याक्सिन्दा दोभानदेखि बरुणसम्म २७.५ किमि सडक कालोपत्रे गर्न दुई अर्ब ४३ करोड रुपैयाँ चार लाख ८३ हजार रुपैयाँ बजेट प्राप्त भएको छ भने घोडघोप्पादेखि किमाथांकासम्म १२ किमि सडक स्तरोन्नति गर्न एक अर्ब ५९ करोड १३ लाख ३० हजार रुपैयाँ प्राप्त भएको छ । यो बजेट असारसम्म खर्च गरिसक्नु पर्ने भएकाले तुरुन्तै सूचना जारी गरी ठेक्का आह्वान गरी काम सुरु हुनेछ ।
त्यसैगरी दोभानदेखि किमाथांकासम्म १४ वटा पुल निर्माणका लागिसमेत अर्थ मन्त्रालयबाट बजेट प्राप्त भएको उत्तर-दक्षिण कोशी सडक आयोजनाले जनाएको छ। खाँदबारी–किमाथांका सडकखण्डमा बजेट अभाव नभएको कार्यालयले जनाएको छ। अहिले इन्धन अभावको मूल्यवृद्धि र अभावको बिचमा पनि निर्माण व्यवसायीहरूले काम गरिरहेको कार्यालयले जनाएको छ ।
खाँदबारी–नुम सडकखण्डमा काम गरिरहेका निर्माण व्यवसायी शर्मा कम्पनीका मेनेजर वैभव पाण्डेले प्रतिकूल मौसमको बाबजुद पनि काम गरिरहेको बताए । ‘कास्कीको लुम्लेपछि यहाँ दोस्रो धेरै पानी पर्ने ठाउँ रहेछ। अत्यधिक वर्षात्का कारण वर्षभरमा चार महिना पनि राम्रोसँग काम गर्न सकिँदैन। दुई वर्षअगाडिसम्म खाँदबारीदेखि नुमसम्म ३९ किमि सडक पार गर्न ८ देखि १० घण्टासम्म लाग्ने गरेको थियो, तर अहिले डेढ घण्टामा सजिलै पुग्न सकिन्छ । तोकिएको समय आगामी ०८४ बैशाखभित्र तीनैवटा खण्डको काम सम्पन्न गरेर हस्तान्तरण गछौँ,’ पाण्डेले भने।
जेभी पार्टनर शिवशक्तिले काम नगर्दा सडक निर्माणमा प्रगति नभएको पाण्डेको भनाइ छ । शिवशिक्तले काम नगरेपछि शर्मा कम्पनी आफैँ आएर काम थालेको उनको भनाइ छ । त्रिदेशीय लिंक भारत–नेपाल–चीन जोडने सबैभन्दा छोटो ३९० किमि र मानवबस्ती भएको बाह्रै महिना चल्न सक्ने राजमार्ग हो । ०६५ सालमा खाँदबारीमा उत्तर-दक्षिण कोशी सडक आयोजनाको कार्यालय स्थापना भई किमाथांका नाका खोल्ने सडक निर्माणको काम थालेको हो । किमाथांका–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्।