ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा देवी मन्दिर क्षेत्रमा निर्माणाधीन केवलकार आयोजनालाई लिएर यतिबेला पक्ष–विपक्षबीच तीव्र बहस र जुहारी चलिरहेको छ। केवलकार निर्माण हुनुपर्ने र नहुने दुवै पक्षले पालैपालो पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।
पाथीभरा देवी (मुकुम्लुङ) केवलकार आयोजना धार्मिक पर्यटन, स्थानीय आर्थिक विकास तथा रोजगारी सिर्जनाका लागि महत्वपूर्ण रहेको भन्दै केवलकार निर्माणलाई अघि बढाउनुपर्ने पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ। शनिबार फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले लाखौँ भक्तजनलाई सहज पहुँच पुर्याउन केवलकार अत्यावश्यक भएको बताएका छन्।
फुङ्लिङ नगरपालिकाका प्रमुख मादेनले पाथीभरा देवी (मुकुम्लुङ) सबै धर्म, संस्कृति तथा सम्प्रदायको आस्थाको केन्द्र भएको उल्लेख गर्दै जिल्लाका बुद्धिजीवी, धार्मिक तथा सांस्कृतिक संस्था र उद्योगी व्यवसायीहरूको पहलमा ठूलो लगानी भित्रिएको दाबी गर्दै केवलकार निर्माण हुनुपर्नेमा जोड दिएका छन्। उनले केही समययता बाहिरी जिल्लाका व्यक्तिहरू समेत संलग्न भइ केवलकार, जलविद्युत् र प्रसारण लाइनजस्ता विकास निर्माणका काममा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए।
उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष विकास गौतमले केवलकार आयोजनाले धार्मिक पर्यटकको सुविधा बढाउनुका साथै जिल्लामा अन्य पर्यटकीय पूर्वाधार विकासमा समेत सहयोग पुग्ने बताए। स्थानीय उत्पादनले बजार पाउने, रोजगारी सिर्जना हुने तथा कोशी प्रदेशसहित समग्र देशको पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उनले जानकारी दिए। होटल व्यवसायी सुरेश लिम्बूले मुक्कुम्लुङ संरक्षण तथा केवलकार खारेजीको नाममा घोषणा गरिएका आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरे।
उता, मुक्कुम्लुङ संरक्षण तथा केवलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। गत बुधबार फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै स्थानीय प्रशासनले निर्माण रोक्न दिएको निर्देशन बेवास्ता गर्दै कामलाई निरन्तरता दिइएको आरोप समेत लगाएका छन्।समितिले झुटा, फर्जी तथा नक्कली दस्तावेजका आधारमा पवित्र ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा मुक्कुम्लुङ अतिक्रमण गरिएको दाबी गर्दै निर्माण कार्य तत्काल बन्द गरी सत्यतथ्य छानबिन गर्न माग गरेको छ। समितिले वन फँडानी, जग्गा किनबेचमा ठगी, भ्रष्टाचार तथा अनियमितता भएको आरोप समेत लगाएको छ।
उनीहरुले घोषित कार्यक्रम अनुसार वैशाख ३० गते ताप्लेजुङ, फुङ्लिङ र काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्ने कर्यक्रम सम्पन्न गरिसेको बताएको छ। जेठ ५ गते विभिन्न राजनीतिक दलसँग छलफल तथा अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । यस्तै जेठ ९ गते विभिन्न संघसंस्थासँग अन्तरक्रिया, जेठ ११ गते कालो झण्डा सहित कोणसभा, जेठ १६ गते फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपण सहित विरोध प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ ।
निर्माण पक्षका अनुसार उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको नेतृत्वमा निर्माण भइरहेको पाथीभरा देवी दर्शन केवलकार आयोजनामा हालसम्म करिब एक अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको बताइएको छ।पाथीभरा केवलकार आयोजनालाई लिएर जिल्लामा पछिल्लो समय पक्ष र विपक्षबीचको बहस चर्किँदै गएको छ भने विकास, धार्मिक आस्था, सांस्कृतिक संरक्षण र स्थानीय अधिकारको विषयलाई लिएर विवाद अझ गहिरिँदै गएको देखिन्छ । यसको समाधान अहिलेको नेपाल सरकाले गर्नु पर्ने समेत स्थानीय बासीले माग गरेका छन्।