नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका छन्। कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै पार्टी विभाजनको डिलमा पुगेको बताएका हुन्।
केही दिनअघि सभापति र उपसभापतिसँग भएको भेटको प्रसंग उल्लेख गर्दै खड्काले आफूले पार्टी विभाजनको बाटोमा जान नहुने सुझाव दिएको बताए। ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न, तर पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुईजनाको हातमा छ, मैले भनेको छु,’ उनले भने, ‘गगन थापा सिंगो कांग्रेसको नेता बन्न सक्नुपर्छ।’
उनले आफूले पटक–पटकको भेटमा पार्टीभित्र सबैलाई समेटेर अघि बढ्न भनेको बताए। ‘सानेपाको मात्रै सभापति देखिएर भएन,’ उनले भने, ‘क्रियाशील सदस्यहरूले पनि आफ्नो भएको महसुस गर्नुपर्यो।’
विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको उनले बताए। ‘विशेष महाधिवेशनकै प्रभावका कारण प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस खुम्चिन पुगेको छ,’ उनले भने, ‘विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो। कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो।’