ब्लकबस्टर निर्देशक पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ। शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले सिनेमाको छायांकन सुरु गरेको हो।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भएको हो। शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए।

चलचित्र ३५ दिन छायांकन गर्ने सेड्युल रहेको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन्।

अभिनेता विजय बराल र अञ्जना बराइली ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यो सिनेमामार्फत दोस्रोपटक सहकार्य गर्दै छन्। यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’मा काम गरेका थिए। जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ।

निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारंगी’मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित गरेका थिए।

अहिले निर्देशक पौडेलले त्यही ‘लक्की’ टिम (विजय र अञ्जना)लाई लिएर ‘सिन्दुरे जात्रा’ छायांकन सुरु गरेका छन्। चलचित्रलाई राम्रो बनाउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए।

चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ। आरआर फिल्म्सले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ।

सुझावित समाचार