भैरहवामा रहेको काशी नोबल एकेडेमीले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा कोरियन भाषाको विषय पढाउन सुरु गरेको छ।
कक्षा ११ र १२ मा कोरियन भाषालाई ऐच्छिक विषयका रूपमा पठनपाठन गराउन सुरु गरेको विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।
नेपाली विद्यार्थी कोरिया गई अध्ययन गरेर पछिल्ला वर्षमा हासिल गरेको प्राविधिक र आर्थिक प्रगतिको जानकारी तथा प्रविधि नेपालमा ल्याउन सक्ने भएकाले कोरियन भाषा अध्ययन गराउन लागिएको विद्यालयले जनाएको छ।
वैदेशिक रोजगारीका लागि सजिलो गर्नका लागि नभएर उच्चस्तरको प्राविधिक शिक्षा हासिल गरी नेपाल फर्किएर नेपालमा दक्ष जनशक्ति तयार पार्न सकून् भन्ने उद्देश्यले कोरियन भाषा पढाउन सुरु गरिएको प्रिन्सिपल घिमिरेले बताए।
दक्षिण कोरियामा दक्ष जनशक्तिको माग उच्च रहेको र विदेशी विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति दिएर आकर्षित गरिएकाले नेपाली विद्यार्थीलाई पनि त्यो अवसर लिन सक्ने भएकाले अध्ययन सुरु गरिएको विद्यालयका सह–प्राचार्य श्री रायमाझीले बताए।
युरोप-अमेरिका जाने धेरैजसो विद्यार्थीहरू उतै स्थायी बसोबास गर्नेतिर लाग्ने गरेका पाइएको छ। कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूले निश्चित समयपछि स्वदेश फर्किनुपर्ने नियमका कारण उनीहरूले सिकेको सिप र प्रविधि नेपालकै विकासमा उपयोग हुन सक्ने भएकाले विद्यालयले कोरियन भाषालाई पाठ्यक्रममा समावेश गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर रायमाझीले जानकारी दिए।