दार्चुलाकी निरुता महिला भलिबलको नयाँ कप्तान

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण
  • नियमित कप्तान अरुणा शाही अस्ट्रेलिया भासिएपछि नेपाल भलिबल संघले काभा च्याम्पियनसिपका लागि निरुता ठगुन्नालाई महिला टोलीको नयाँ कप्तानीको जिम्मेवारी दिएको छ

नेपालले काभा भलिबल च्याम्पियनसिपमा नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गरेको हो । महासंघको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले दार्चुलाको नौगाड गाउँपालिका– ६ मा जन्मिएकी निरुतालाई नयाँ कप्तानमा नियुक्त गरेको हो । 

यसअघि महिला टोलीको कप्तान अरुणा शाहीले गर्दै आएकी थिइन् । गत वर्ष शाही अस्ट्रेलिया पुगेपछि काभा च्याम्पियनसिपका लागि महासंघले टोलीको नयाँ कप्तान चयन गरेको हो । शाहीले सन् २०१९ देखि २०२५ सम्म टोलीको कप्तानी गरेकी थिइन् । ओपन स्पाइकर निरुताले सन् २०१९ मा आयोजना भएको काभा च्याम्पियनसिपमा नेपाल पहिलोपटक विजेता हुँदा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । 

‘अहिले करिअरमा नयाँ जिम्मेवारी पाएकी छु । कप्तान बन्न पाउँदा निकै खुसी छु,’ ठगुन्नाले भनिन्, ‘यो जिम्मेवारीसाथ राष्ट्रलाई सफलता दिलाउनेमा कटिबद्ध छु ।’ कप्तान हुने दौडमा निरुतासहित अर्की ओपन स्पाइकर उषा भण्डारी र लिबेरो सलिना श्रेष्ठ पनि थिए । मुख्य प्रशिक्षक जगदीश भट्टले ठगुन्नालाई कप्तानको जिम्मेवारी दिएका छन् । 

एथ्लेटिक्स हुँदै भलिबलको कप्तान
ठगुन्नाले आफ्नो स्कुल जीवनमा एथ्लेटिक्सबाट सुरु गरेकी थिइन् । त्यसपछि उनी बिस्तारै भलिबलतर्फ आकर्षित भइन् । ०७३ सालमा भएको सातौँ राष्ट्रिय खेलकुदमा उनी सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै भलिबलमा देखा परिन् । उनले घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफबाट खेल्दै आएकी छिन् । एपिएफमा आबद्ध हुनुअघि उनी नेपाल पुलिस र त्रिभुवन आर्मीबाट पनि विभिन्न घरेलु प्रतियोगिता खेलेकी थिइन् । सन् २०१९ मै आर्मी छाडेपछि उनी एपिएफबाट खेल्दै आएकी छिन् । 

यसैगरी, फ्रेन्चाइज टोलीमा ठगुन्ना मधेश युनाइटेडमा आबद्ध छिन् । उनी यस टोलीकी कप्तानसमेत हुन् । गत वर्ष भएको काभा क्लब च्याम्पियनसिपमा नेपाल पुलिसबाट खेल्दै उनले उपाधि जिताएकी थिइन् । सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल उपविजेता हुँदा उनी महत्वपूर्ण खेलाडीका रूपमा थिइन् । सन् २०२२ मा नेपाल पुनः एकपटक काभा च्याम्पियन हुँदा उनी टोलीमा रहिनन् । तर, सन् २०२३ मा यसै प्रतियोगितामा कांस्य र सन् २०२४ मा नेपालले रजत पदक जित्दा उनी टोलीमा थिइन् । 

घरमै उपाधि जिताउने अवसर
नेपालले सन् २०१९ र सन् २०२२ मा काभा च्याम्पियनसिप जितिसकेको छ । त्यसपछि नेपाल लगातार दुईपटक उपाधि जित्नबाट वञ्चित भयो । अब, नेपालाई ८ देखि १५ जेठसम्म घरेलु कोर्टमै हुने काभा च्याम्पियनसिप जित्ने अवसर रहेको छ । ठगुन्नाको कप्तानीमा रहेको नेपालले भारतसँगै किर्गिस्तान र माल्दिभ्ससँग खेल्दै छ । अर्को समूहमा इरान, बंगलादेश, श्रीलंका र कजाकिस्तान रहेका छन् । 

सुझावित समाचार