नेप्सेमा सामान्य वृद्धि, तीन अर्बको सेयर कारोबार

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य वृद्धि भएको छ। नेप्से मात्र १.७७ अंकले बढेर दुई हजार ७३१.९४ विन्दुमा कायम भएको हो।

आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर तीन अर्ब नौ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। अघिल्लो दिन तीन अर्ब २९ करोडको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये विकास बैंक, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचल फन्डको सूचक घट्दा बाँकी समूह बढेका छन्। सबै समूहको सूचक एक प्रतिशतभन्दा कमले घटबढ भएका हुन्।

आज नबिल डिबेन्चरका लगानीकर्ता सर्वाधिक कमाउने सूचीको शीर्ष स्थानमा छन्। उक्त धितोपत्र ७.७१ प्रतिशतले वृद्धि हुँदा मोदी इनर्जी पाँच र राष्ट्रिय बिमा कम्पनी ५.२६ प्रतिशतले बढेको छ।

तर, युनियन हाइड्रोका लगानीकर्ताले १४ र क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन्।

सुझावित समाचार