बागमतीका २१ विद्यालयको एसइई नतिजा शून्य

२० सामुदायिक र १ संस्थागत विद्यालयबाट एकजना विद्यार्थी पनि उत्तीर्ण भएनन्

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) ०८२ को नतिजामा बागमती प्रदेशका १३ मध्ये ६ जिल्लाका २१ वटा विद्यालयको नतिजा शून्य आएको छ। 

बागमती प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक गोपालप्रसाद कँडेलका अनुसार शून्य नतिजा आउने विद्यालयमध्ये २० वटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेका छन् । प्रदेशभर सामुदायिक तथा संस्थागत गरी दुई हजार ८८३ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

महानिर्देशक कँडेलका अनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लाका सात विद्यालयको नतिजा शून्य आएको छ । उक्त जिल्लाबाट सामुदायिक र संस्थागत गरी १५३ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएका थिए। त्यसैगरी काभ्रेपलाञ्चोकका चार विद्यालयबाट सहभागी विद्यार्थीमध्ये एकजना पनि उत्तीर्ण हुन सकेनन्। काभ्रेबाट कुल २९१ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

यसैगरी मकवानपुरमा दुई स्थानीय तहअन्तर्गतका चार विद्यालयको नतिजा शून्य पनि आएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका– ४ स्थित कालिका माध्यमिक विद्यालय, राक्सिराङ– ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय र राक्सिराङ– ८ स्थित माध्यमिक विद्यालय देवीटारका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्। त्यसैगरी भीमफेदी गाउँपालिका–८ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको नतिजा पनि शून्य आएको छ। मकवानपुरबाट सामुदायिक र संस्थागत गरी १४२ विद्यालयका पाँच हजार ५२७ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए।

महानिर्देशक कँडेलका अनुसार चितवनमा एक संस्थागत र तीन सामुदायिक गरी चार विद्यालयको नतिजा शून्य आएको छ । बागमती प्रदेशमा संस्थागत विद्यालयको नतिजा शून्य आउने जिल्ला चितवन मात्रै रहेको निर्देशनालयले जनाएको छ । चितवनमा कुल २६७ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

यता धादिङमा एउटा विद्यालयको नतिजा शून्य आएको छ । उक्त जिल्लाबाट १६१ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएका थिए । त्यसैगरी ललितपुरको पनि एउटा विद्यालयको नतिजा शून्य आएको निर्देशनालयले जनाएको छ । काठमाडौं, भक्तपुर, नुवाकोट, रसुवा, सिन्धुली, दोलखा र रामेछाप जिल्लाका भने कुनै पनि विद्यालयको नतिजा शून्य आएको छैन । 

सुझावित समाचार