टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी १०औँ पोखरा स्पोर्टस् अवार्ड २०८२ को उत्कृष्ट खेलाडी बनेका छन् । पुरुषतर्फ प्रदीप र महिलामा नारायणी उत्कृष्ट खेलाडी घोषित भएका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको अवार्डमा बिहीबार भलिबलका राजन दर्लामीले पिपल्स च्वाइसको अवार्ड पारे ।
उनले फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, मुआथाई–आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपिन खत्रीलाई पछि पारे । यसैगरी, लाइफटाइम अचिभमेन्ट अवार्ड भने ओलम्पियन टीकाबहादुर बोगटीलाई दिइएको छ । कास्की जिल्ला क्रिकेट संघ वर्षको उत्कृष्ट संघ बनेको छ । वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड दीननाथ बरालले पाएका छन् । क्रिकेटकी सुस्मा तामाङ स्पेसल अवार्डबाट सम्मानित भइन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्सका सिद्धान्त अधिकारी घोषित भए ।
राजनले टेनिसका कुमार अधिकारी र तेक्वान्दोका रेखमाया गुरुङलाई पछि पारे । वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी निभा राईले हात पारे । एथ्लेटिक्सकी अनुस्का अधिकारी र तेक्वान्दोका सचिन सुनारलाई राईले पछि परेका थिए । पिपल्स च्वाइसका लागि पाँचजनालाई मनोनयन गरिएको आयोजक मञ्चका अध्यक्ष एमबी आस्थाले जानकारी दिए । प्रदेशका ११ जिल्लामा गत वर्ष उत्कृष्ट प्रदर्शन गरेकालाई सम्मान गरिएको हो । लाइफटाइम अचिभमेन्ट अवार्ड विजेताले चाँदीको करुवा पाएका छन् ।
वर्ष खेलाडी पुरुष, महिला र पिपल्स च्वाइसका विजेताले स्कुटर पाएका छन् । उदीयमान खेलाडी, प्रशिक्षक, पत्रकार, खेलकुद संघ–संस्था वा क्लब र स्पेसल अवार्ड पाउनेले ३५ हजार नगद र ट्रफी हात पारे ।