आफ्नै भवनबाट वडा कार्यालयको सेवा प्रवाह थालनी

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

जनसंख्या र भूगोलको आधारमा जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तहको रूपमा रहेको सिरहाको लहान नगरपालिका ९ लहान गोठमा नवनिर्मित चारकोठे भवनबाट वडा कार्यालयको सेवा प्रवाह थालनी गरिएको छ । 

नगरपालिकाको समपूरक कोष र संघीय सरकारको अनुदान अन्तर्गत टेण्डरमार्फत ३५ लाख १५ हजार रुपैयाँको लागतमा नवनिर्मित चारकोठे भवनबाट बिहीबार एक समारोहबीच नगर प्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष घुरन चौधरी थारुले संयुक्त रुपमा रिवन काटेर वडा कार्यालयको विधिवत् उद्घाटनसँगै सेवा प्रवाहको थालनी गरे । नवनिर्मित भवनमा वडाध्यक्ष र वडा सचिवको छुट्टाछुट्टै कार्यकक्ष, दुई कोठा बराबरको सभाहल र शौचालय छन् । 

भवनको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले लहान नगरपालिकाअन्तर्गतका २४ मध्ये लहान गोठसहित २० वटा वडा कार्यालयले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गरिरहेको बताए । ‘वडा कार्यालयको उद्घाटनसँगै ९ नं. वडा क्षेत्रमा पर्ने गाउँ टोलका सेवाग्राही नागरिकले पनि वडाको आफ्नै भवनबाट सेवा लिनेछन्’ उनले भने ‘यो भवन सबैको साझा उपलब्धि हो, वडा कार्यालयबाट लिन सकिने प्रशासनिक सेवा लिन सहज हुनेछ ।’ 

उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनपछि साढे तीन वर्षको अवधिमा हरेक आर्थिक वर्षमा पाँच/ पाँचवटाको दरले १५ वटा वडा कार्यालयको भवन निर्माण गरी आफ्नै भवनबाट सेवा प्रवाह भईरहेको छ । चालु आव. २०८२/०८३ को असार मसान्तसम्म ४, १३, १६ र २४ नं. वडाको पनि भवन निर्माण सम्पन्न गरी सेवा सुचारु गर्ने गरी निर्माणको काम भइरहेको उनले बताए । 

वि.सं. २०७४ को स्थानीय तहको पहिलो निर्वाचनपछि स्वास्थ्य चौकी भवनको साँघुरो कोठामा सञ्चालन हुँदै आएको वडा कार्यालय आठ वर्षपछि आफ्नै भवनमा सर्न पाएकोमा वडाध्यक्ष चौधरीले खुसी व्यक्त गरे । आफ्नै भवन नहुँदा स्वास्थ्यको साँघुरो कोेठाबाट सेवा प्रवाह गर्न भोग्दै आएको कठिनाई अन्त्य भएको उनले बताए । 
 

सुझावित समाचार