नेपाल बिमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बिमा कारोबार गर्न रोक लगाएको छ । प्राधिकरणको वैशाख २९ गतेको सञ्चालक समितिको बैठकले कम्पनीलाई असार मसान्तसम्म कारोबार गर्न रोक लगाएको हो ।
कम्पनीले पुनर्बिमा दाबी भुक्तानी र यसअघि भएको पुनर्बिमाको रेट्रोसेसन गर्न पाउनेछ । त्यसबाहेक नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगाइएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो ।
‘बिमक हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई पुनर्बिमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भए–गरेका पुनर्बिमा व्यवसायका लागि रेट्रोसेसन गर्ने कार्यबाहेक आर्थिक वर्ष ०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बिमा व्यवसाय गर्न बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाइएको व्यहोरा प्राधिकरणको मिति २०८३/०१/२९ को निर्णयानुसार सम्बन्धित सरोकारवालामा सूचित गरिन्छ,’ प्राधिकरणको सूचनामा भनिएको छ ।
हिल्टन होटेलको पुनर्बिमा दाबी विवाद, सम्पत्ति शुद्धीकरण, लगानी अपचलनलगायतका विषयमा टेकेर कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो । कम्पनीका आधारभूत सेयरधनीसमेत रहेका व्यवसायी दीपक भट्टले हिमालयन रि इन्स्योरेन्सको रकम दुरुपयोग गरेको देखिएको छ ।
हाल उनी सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा छन् । कम्पनीबाट सेयर किन्न लगेको अर्बाैँ रुपैयाँ रकम कम्पनीले फिर्ता नलिएको र त्यो पैसा कुनै निश्चित समूहले प्रयोग गरेको पाइएको छ ।
कम्पनीका साबिकका सञ्चालकलाई अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको छ । यी यस्ता परिस्थितिबिच प्राधिकरणले कम्पनीलाई कारोबारमा रोक लगाएको हो ।
‘सम्पत्ति शुद्धीकरण, लगानी अपचलन, पुनर्बिमा दाबीलगायतका पछिल्ला घटनाक्रममा कम्पनीमा समस्या नै देखियो । त्यसपछि करबाहीस्वरूप कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने । निजी स्वामित्वमा स्थापना भएको हिमालयन रि इन्स्योरेन्स स्थापना कालदेखि नै विवादमा छ । पछिल्लो समय यो झन् विवादमा परेको थियो ।