सरकारले काठमाडौंसहितका विभिन्न जिल्लामा सुकुमवासी बस्ती खाली गराउन थालेपछि कञ्चनपुरका सुकुमवासी पनि आन्दोलित भएका छन्। काठमाडौंसहित देशभर सुकुमवासी बस्ती खाली गराउने तयारी थालेपछि कञ्चनपुरका सुकुमवासी आन्दोलित भएका हुन्। सरकारले अतिक्रमित जमिन खाली गराउन थालेपछि कञ्चनपुरका सुकुमवासीले आन्दोलन थालेका छन्। बिहीबार बिहानै जिल्ला सदरमुकाम महेन्द्रनगरमा ‘डोजरआतंक बन्द गरियोस, उचित बसोबास व्यवस्थापन गरियोस्’ भन्दै विरोध प्रदर्शन गरेका हुन्।
सुकुमवासी अगुवा आनन्दसिंह धामीले सरकारले देशभरका वास्तविक सुकुमवासीको उचित बसोबासको साटो सरकारी जमिन खाली गराउने नाममा बिचल्ली बनाउन थालेपछि त्यसको विरोधस्वरूप जिल्लामा पनि आन्दोलन गरेको बताए। धामीले संविधानमा नेपाली नागरिकको उचित गाँसवास, बसोबासको प्रबन्ध गर्ने प्रावधान भए पनि सरकारले अमानवीय रूपमा उठीवास गराएर कञ्चनपुरदेखि काठमाडौंका सुकुमवासी मानसिक तनावले आत्महत्या गर्न बाध्य भएको बताए । उनका अनुसार सुकुमवासी बस्तीदेखि सुुरु भएको विरोध प्रदर्शन, महेन्द्रनगर बजार, बसपार्क राजमार्ग भएर भाँसीमा पुगेर कोणसभामा परिणत भएकाे थियाे।
सुकुमवासीले पहिले उचित न्यायिक बसोबास त्यसपछि मात्रै बस्ती खाली गर्नुपर्ने माग अघि सारेका छन्। कोणसभामा सुकुमवासीका अर्का अगुवा एवं मजदुर नेता महेश पन्तले कुनै पनि नेपाली नागरिकको उचित बसोबासको प्रबन्धविनै हचुुवा, सनक, दुईतिहाइकाे दम्भका भरमा डोजर चलाउने काम बन्द गर्नुपर्नेमा जोड दिएका छन्। राज्यले आफ्ना देशका निमुखा, भूमिहीन सुकुमवासीको उचित बसोबासको साटो, जोखिम मोलेर शान्त बसेर मजदुरी गरेर खाने वर्गमाथि अन्याय गरेको भन्दै रोक्न माग अघि सारेका छन्।
कञ्चनपुर जिल्लाभरका सुकुमवासीले सरकारलाई चेतावनी दिँदै चुनावअघि उचित बसोबास चुनाव जितेर गएपछि उठीवास गर्ने काम बन्द नगरे देशभर आन्दोलन छेड्ने चेतावनी दिएका छन्। कञ्चनपुरमा भूमिहीन दलित दुई हजार ७७२, भूमिहीन सुकुमवासी चार हजार ६८ र अव्यवस्थित बसोबासी ६७ हजार ७६४ परिवारले भूमि आयोगमा फारम भरेका छन् ।