रास्वपाको महाधिवेशन ७–९ असारमा

केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आगामी ७–९ असारसम्म गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले ७ देखि ९ असारसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुलीले बताए । बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको हो । महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।

केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको रास्वपा सचेतक प्रकाशचन्द्र परियारले बताए । उनका अनुसार प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, सुरक्षा समिति, सूचना प्रविधि, साजसज्जा समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार समिति, सांस्कृतिक कार्यक्रम समिति, अतिथि सत्कार समिति, विधान संशोधन समिति गठन गरिएको छ । यसैगरी, ७७ जिल्लाबाटै कम्तीमा २५ सय प्रतिनिधिको सहभागिता रहनेछ । ७७ जिल्लामा केन्द्रीय सदस्यलाई समन्वयका लागि तोकिँदै छ ।

केन्द्रीय समितिले विशेष प्रदेश अधिवेशन पनि तोकेको छ । बागमतीमा २६ जेठ, कोशीमा २७ गते, मधेशमा २८ गते, गण्डकीमा २९ गते, लुम्बिनीमा ३० गते, कर्णालीमा ३१ गते र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने परियारले बताए । उनका अनुसार महाधिवेशनमा प्रवास सम्पर्क विभागलाई न्यूनतम तीनजनादेखि अधिकतम ११ जना प्रतिनिधि तोकिएको छ । कथंमकदाचित पालिका अधिवेशन नभएको खण्डमा अहिलेकै पालिका प्रमुख महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ । राष्ट्रिय महाधिवेशन पार्टीको स्थापना दिवसमा डिजिटलाइजेसन गरेर भव्य मनाइने परियारले बताए ।

रास्वपाले वडादेखि जिल्ला भेला जेठभित्रै सक्ने विशेष तालिका बनाएको छ । २ जेठमा वडा भेला (समिति गठन नभएका वडाहरूमा), ३ गते वडा अधिवेशन (२० वैशाखअगावै समिति गठन भएका वडा), ९ गते पालिका भेला (समिति गठन नभएका पालिकामा), १० गते पालिका अधिवेशन (२५ वैशाखअगावै समिति गठन भएका पालिका), १६ गते वडा अधिवेशन (३ जेठअगाडि गठन भएका बाँकी वडा), १७ गते पालिका अधिवेशन (१० जेठअगाडि समिति गठन भएका बाँकी पालिका) गर्ने तालिका छ । यसैगरी जिल्ला अधिवेशन २३ र २४ जेठमा गर्ने तालिका छ । 

See More On

सुझावित समाचार