अन्तरजातीय प्रेम सम्बन्धको निहुँमा दलित परिवारमाथि कुटपिट

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण
अन्तरजातीय प्रेम सम्बन्धको निहुँमा दलित परिवारमाथि कुटपिट

हिरा राम

रौतहटको राजपुर नगरपालिका– १, बौहर्वा गाउँमा अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर दलित परिवारमाथि कुटपिट भएको छ । उपल्लो जात भनिने समुदायकी किशोरीलाई दलित समुदायका युवकले भगाएको आरोपमा युवकका वृद्ध मावली हजुरबुवा र हजुरआमामाथि कुटपिट हुनुका साथै परिवारका अन्य सदस्यलाई मानसिक यातना दिइएको घटना सार्वजनिक भएको हो ।

माधवनारायण नगरपालिका घर भई बौहर्वास्थित मामाघरमा बस्दै आएका २२ वर्षीय गुड्डुकुमार रामले स्थानीय यादव समुदायकी एक १७ वर्षीया किशोरीलाई भगाएको आरोप छ । सोही घटनाको निहुँमा आइतबार राति युवकका ७० वर्षीय हजुरबुवा हिरा राम र ६५ वर्षीया हजुरआमा फुलियादेवी राममाथि लछारपछार गर्दै कुटपिट गरिएको पीडितपक्षले बताएको छ । घाइते वृद्धदम्पतीको हाल गौर अस्पतालमा उपचार भइरहेको छ । ‘नातिले गल्ती गरेको भए ऊ दोषी होला, तर यसमा हाम्रो के अपराध ? हामीलाई किन कुटियो ?’ हिरा रामले प्रश्न गरे । उनले काठमाडौंमा रहेकी आफ्नी बुहारीलाई समेत फोनमार्फत धम्की दिइएको बताएका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एवं सूचना अधिकारी विष्णुप्रदीप बस्यालले भने किशोरी भगाएको विषयमा विवाद भएको बताए । ‘हिरा रामलाई बाहिरी रूपमा देखिने चोट नभए पनि भित्री चोट हुन सक्ने भएकाले घाउजाँचका लागि पठाइएको हो, उनले भने, ‘रिपोर्ट आएपछि थाहा हुन्छ ।’ पीडित पक्षले स्थानीय दुर्गा राय यादव, अनिलराय यादवलगायतका व्यक्तिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । हिरा रामले आफ्ना नाता पर्ने १६ वर्षीय रोशन पासवान र १७ वर्षीय अमितकुमार रामलाई सोमबार बिहान जबर्जस्ती गाडीमा हालेर लगिएको दाबी गरेका छन् । 

तर, सूचना अधिकारी बस्यालले दुई किशोरलाई सामान्य सोधपुछका लागि इलाका प्रहरी कार्यालय राजपुर ल्याइएको र पछि परिवारको जिम्मा लगाइसकिएको बताए । प्रहरी प्रवक्ता बस्यालका अनुसार युवक २२ वर्ष र युवती १७ वर्षकी (नाबालिग) देखिएकाले यो ‘अपहरण तथा शरीर बन्धक’ वा ’‘बालविवाह’को गम्भीर अपराधअन्तर्गत पर्छ । ‘युवकले सरासर अपराध गरेको देखिन्छ । सोही अपराध लुकाउन र केटीलाई सम्पर्कमा नल्याउन केटा पक्षले विभिन्न बहानाबाजी गरिरहेको हाम्रो बुझाइ छ,’ बस्यालले भने । हाल प्रहरीले फरार युवक र युवतीको खोजी गरिरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ । 

सुझावित समाचार