बेलायतमा मनाइयो किराँती एकताको उँभौली साकेला स्याँदर उत्सव

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

किराँती एकताको उदाहरण प्रस्तुत गर्दै बेलायतमा उँभौली साकेला स्याँदर उत्सव मनाइएको छ। किराँत राई तथा सुनुवार समाज क्याट्रिक योर्कसायरको आयोजनामा यलम्बर संवत् ५०८६ अवसरमा उँभौली साकेला, साकेन्वा, स्याँदर प्रदर्शन गरेर उत्सव मनाइएको हो।

उत्सव मनाउनका लागि नेपाली समुदायको बाहुल्य रहेको उत्तरी बेलायतको कार्लाइल, लिड्स, न्यु क्यासल, हडर्सफिल्ड तथा डार्लिङ्ग्टनबाट किराँती समुदाय, नेपाली समुदाय, सेवारत सैनिक परिवारसहित त्यहाँका अन्य समुदायले सहभागिता जनाएका थिए।

यस्ता कार्यक्रमले विदेशमा जन्मँदै र हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, वेशभूषा, गरगहना तथा पहिचानसँग जोड्ने किराँत राई तथा सुनुवार समाजका अध्यक्ष नन्दराज राईले बताए।

क्याटरिक ग्यारिसनको ले केटो कम्युनिटी प्राइमरी स्कुलमा भएको उक्त कार्यक्रममा १५० जनाले किराँत राई तथा सुनुवार समुदायको भाषा, धर्म, संस्कृति, वेशभूषा, परम्परा, मौलिक पहिचान तथा सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेका थिए। अग्रज पुजारी गजुरमान र संस्थाका अध्यक्ष नन्दराज राईले साकेला थानमा स्थापित पारुहाङ–सुम्निमा तथा यलम्बरका तस्बिरहरूअगाडि पितृहरूको स्मरण गर्दै तीन चुला मानी तीनवटा पानसमा दीप प्रज्ज्वलन गरी उत्सवको उद्घाटन गरेका थिए।

सुझावित समाचार