रामेछाप उद्योग वाणिज्य संघले आफैँ सुरु गर्‍यो बजार अनुगमन

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

व्यवसायीले अनिवार्य हरेक सामग्रीको मूल्यसूची राख्नुपर्नेलगायतमा सरकारले कडाइ गरेसँगै सरकारी अनुगमनअघि नै आफ्ना व्यवसायीहरूको अनुगमन तथा सचेतनाको कार्यक्रम लिएर रामेछाप उद्योग वाणिज्य संघ अनुगमनमा निस्किएको छ। संघले बुधबारबाट बजार अनुगमन र सचेतनाका कार्यक्रम लिएर व्यवसायीहरूकोमा पुगेको हो।

संघको अनुगमन समितिले पसलपसलमा गएर म्याद गुज्रेका सामग्री छ, छैन यकिन गर्ने, उपभोक्ताहरूले देख्ने गरी मूल्यसूची राखेको छ, छैन हेर्ने, खरिद तथा बिक्री खाता र बिलविजक जारी भए नभएको विषयमा अनुगमन र सल्लाह दिने तथा पसलमा सरसफाइलाई ध्यान दिन सचेत गर्नेछ।

सदरमुकाम मन्थलीमा गरिएको अनुगमन तथा सचेतीकरण कार्यक्रमको पहिलो दिन ३२ वटा पसलहरूमा पुगेको संघका वाणिज्य उपाध्यक्ष सुरेश उदासले जानकारी दिए। जिल्ला अनुगमन समिति र नगरपालिकाले अनुगमन गर्दा कतिपय व्यवसायीहरू अन्जानमै जरिवानामा पर्ने र म्याद ग्रुजेका अखाद्य वस्तुसमेत जफत गर्ने गरेकाले जिल्लास्तरीय अनुगमनअगावै आफ्ना सदस्यहरूलाई जिल्ला अनुगमन समितिले गर्न सक्ने सम्भावित अनुगमनका विषय र व्यवसायीहरूले पालना गर्नुपर्ने नियमका विषयमा जानकारी गराएको उपाध्यक्ष उदासले बताए।

संघले उदासको संयोजकत्वमा ५ सदस्यीय बजार अनुगमन तथा व्यवस्थापन उप–समिति गठन गरेको छ। सोही समितिले अहिले दैनिक रूपमा संस्थामा आबद्धता भएका सबै व्यवसायीहरूमाझ पुग्ने गरी अनुगमन सुरुवात गरेको हो। उक्त संस्थामा जिल्लाभरका करिब एक हजार ७ सयको हाराहारीमा व्यवसायीहरू आबद्ध छन्।
 

सुझावित समाचार