नेपाली सेनाको हनुमानध्वज गुल्म हुटु राराले आयोजना गरेको छैटौं रारा ट्रेल रनको उपाधि जुम्लाका दलबहादुर कुँवर र सुनमाया बुढाले जितेका छन्। शुक्रबार आयोजित ट्रेल रनमा पुरुषतर्फ दलबहादुर र महिलातर्फ सुनमाया विजयी भएका हुन्।
बुधबार कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल रारा ताल किनारको १६ किलोमिटर दूरीमा ट्रेल रन आयोजना गरिएको थियो। पुरुषतर्फका विजेता जुम्लाको तातोपानी गाउँपालिका–७ का २४ वर्षीय दलबहादुरले निर्धारित दूरी एक घण्टा १२ सेकेन्डमा पार गरे। कनकासुन्दरी गाउँपालिका– ३ जुम्लाका १८ वर्षीय युगराज बुढा द्वितीय भए। उनले निर्धारित दुरिरी १ घण्टा १ मिनेट ५९ सेकेन्ड लगाए। तृतीय भएका छायानाथ रारा नगरपालिका–१४ का १८ वर्षीय अक्कल बडुवालले १ घण्टा ३ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरे।
महिलातर्फ प्रथम भएकी जुम्लाकै पातारासी गाउँपालिका–२ की सुनमाया बुढाले निर्धारित दुरी १ घण्टा १३ मिनेटमा पूरा गरिन्। पातारासी गाउँपालिका–२ जुम्लाकै राममाया बुढा १ घण्टा १५ मिनेटमा दूरी पार गर्दै दोस्रो हुँदा भेरी नगरपालिका–५ की सुनसरी रोकायाले १ घण्टा १७ मिनेटमा दुरी पूरा गर्दै तृतीय भएकी आयोजक हनुमानध्वज गुल्म राराका गुल्मपति खड्गबहादुर श्रेष्ठले जानकारी दिए।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहिद प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
१६ किलोमिटरको रनमा पुरुषतर्फ ३१२ र महिलातर्फ ४९ जना सहभागी थिए। ५ किलोमिटरको ‘रन फर फन’मा ३१ पुरुष र १५ महिला सहभागी थिए।