निर्माण व्यवसायी पक्राउमा महासंघको विरोध

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल निर्माण व्यवसायी महासंघले सरकारले निर्माण व्यवसायीमाथि धरपकड एवं थुनछेक गरेको भन्दै त्यसको विरोध जनाएको छ । महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कानुन एवं खरिद सम्झौताविपरीत निर्माण व्यवसायीलाई पक्राउन गरिएको भन्दै महासंघले निन्दा गरेको हो ।

महासंघका महासचिव शिवहरि घिमिरेले व्यवसायीमाथिको धरपकड रोक्न माग गरेका छन् । ‘मुलुकमा झन्डै दुईतिहाइको सरकार गठनपछि राजनीतिक स्थिरता कायम भई देशको पूर्वाधार विकासले द्रुत गति लिई अर्थतन्त्रलाई चलायमान बनाउने गरी लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा प्रतिष्ठित एवं अग्रज निर्माण व्यवसायीमाथि प्रहरी प्रशासनबाट निरन्तर भइरहेको धरपकड र थुनछेकप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन, नियम र खरिद सम्झौताका सर्तविपरीत गरिएको धरपकड निन्दनीय छ । महासंघ सरकारको यस किसिमको गैरकानुनी कार्यप्रति खेद प्रकट गर्दछ ।’

पछिल्लोपटक इन्धन तथा निर्माण सामग्रीमा भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण राज्यले समयमै मूल्य समायोजन नदिँदा निर्माणकार्य गर्न सक्ने अवस्था नभएको पनि महासंघले स्मरण गराएको छ । यसले निर्माण व्यवसायीलाई ठुलो आर्थिक एवं मानसिक दबाबमा परेको महासंघको जिकिर छ । यस्तो अवस्थामा व्यवसायीलाई राहत दिनुको सट्टा धरपकड गरिएको भन्दै महासंघले असन्तुष्टि प्रकट गरेको छ । ‘निर्माण उद्योगलगायत निजी क्षेत्रका उद्यमीलाई त्रसित एवं आतंकित पारिएको अवस्थामा अर्थतन्त्र, रोजगारी, राजस्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने निश्चित छ,’ महासंघले भनेको छ, ‘महासंघ सरकारले अब फेरि निर्माण व्यवसायीमाथि विनाकुनै ठोस आधार तथा प्रमाण धरपकड तथा थुनछेक गर्ने कार्य गरेमा कडा कदम चाल्न बाध्य हुने व्यहोरा अवगत गराइन्छ ।’ 
 

सुझावित समाचार