उद्धारका नाममा पर्यटकको बिमा ठगी गर्ने गिरोहका प्रतिवादी डा. गीर्वाणराज तिमल्सिनामाथि थप छानबिन हुने भएको छ। उनीमाथि थप छानबिन गरी कारबाही गर्न प्रहरीले नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्ने तयारी गरेको छ। चिकित्सकको आचरणविपरीतका गतिविधि गरेको देखिएपछि उनीमाथि थप कारबाहीका लागि काउन्सिललाई पत्राचार गर्न लागिएको सिआइबीका एक अधिकारीले बताए।
लाजिम्पाटस्थित श्रीद्धि अस्पतालका सञ्चालकसमेत रहेका तिमल्सिनालाई यसअघि सिआइबीले पक्राउ गरेर मुद्दा चलाएकामा उनी धरौटीमा छुटिसकेका छन्। चिकित्सकको हस्ताक्षरसमेत किर्ते गरी नक्कली रिपोर्ट बनाएर उनले बिमा रकम असुल्ने गरेको छानबिन खुलेको थियो। उनीलगायत सो प्रकरणमा संलग्न ३३ जनाको सिआइबीले सम्पत्ति पनि छानबिन थालिसकेको छ । फेक रेस्क्युमा श्रीद्धिसहित न्यू एरा र स्वाकन अस्पतालको मिलेमतो देखिएको थियो ।
डा.तिमल्सिनासमेत मिलेर सुरुमा न्यू एरा अस्पताल चलाएका थिए। पछि फुटेर तिमल्सिनाले छुट्टै अस्पताल चलाएका हुन्। यसअघिको मुद्दामा उनी पाँच लाख धरौटीमा छुटिसकेका छन्।