स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण
स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। अमेरिकासहित तीन टाेली सम्मिलित श्रृंखलाकाे पहिलाे खेलमा नेपाल २ रनले पराजित भएको हो।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले निर्धारित ५० ओभरमा नेपाललाई २४४ रनको लक्ष्य दिएको थियो। पहिलो इनिङपछि वर्षाका कारण ३९ ओभरमा झारिएको खेलमा २२१ रनको परिमार्जित लक्ष्य तय गरिएको थियो।

नेपालका लागि गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यान चलेनन्। लगातार विकेट गुमाइरहेको अवस्थामा गुल्सनले आक्रामक ब्याटिङ गर्दै आशा जगाएका थिए। उनले ३५ बलमा नटआउट ६१ रन जोडे पनि जितका लागि पर्याप्त भएन।

त्यसअघि दीपेन्द्रले ४९ बलमा ५५ रनको योगदान गरेका थिए। कप्तान रोहित पौडेल ३२, आशिफ शेख २१ र करण केसी १८ रन जोडेर पेभेलियन फर्किए। अर्जुन कुमाल शून्य र आरिफ शेखले तीन रन मात्र जोड्न सके।

स्कटल्यान्डका ब्राड करीले तीन तथा मार्क वाटले र्दुइ विकेट लिँदा ओलिभर डेभिडसन र ज्याक जार्भिसले समान एक विकेट निकाले।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका लागि जर्ज मुन्सीले ७५ रनको अर्धशतकीय इनिङ खेलेका थिए। उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे। यसैगरी, फिन्ले म्याकक्रेथले ३५, माइकल इंग्लिस नटआउट ३४, माइकल लिस्क २९ र मार्क वाटले २४ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएका थिए। नन्दन यादव र करण केसीले समान दुई–दुई विकेट हात पारे।

सुझावित समाचार