निजी जग्गामा पूर्वसहमति नलिई जबर्जस्ती सडक निर्माण गरिएको घटनाको विरोध गर्दा बाँधेर दुर्व्यवहार गरिएको घटनामा संलग्न वडाध्यक्षलाई तत्काल पदबाट निलम्बन गर्दै पक्राउ गरी कानुनी कारबाहीको माग गरिएको छ।
अतिक्रमण मुक्त गर्ने नाममा जबर्जस्ती सडक निर्माण गरेको भन्दै विरोध गर्ने स्थानीय करिब ३१ वर्षीय वीरेन्द्र साहलाई बाँधेर दुर्व्यवहार गर्ने सिराहाको औरही गाउँपालिका ३ का वडाध्यक्ष जीवछ यादवलाई पदबाट निलम्बन गर्दै पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको हो।
जनमत पार्टी सिराहा जिल्ला समितिका अध्यक्ष पंकजकुमार सिंहले मंगलबार सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै घटनामा प्रत्यक्ष संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।
ज्ञापनपत्रमा पीडित साहलाई बाँधेर दुर्व्यवहार गर्नुका साथै स्थानीय गीतादेवी ठाकुर, मनोजकुमार साह र तिनका परिवारका सदस्यहरूसमेतलाई बन्धक बनाई अमानवीय व्यवहार गरिएको घटना गैरकानुनी र मानव अधिकारविरोधी रहेको उल्लेख छ। व्यक्तिको निजी सम्पत्ति जबर्जस्ती अतिक्रमण गर्दा विरोध गर्ने नागरिकलाई बाँधेर कुटपिट गर्ने तथा आतंकित गर्ने कार्य लोकतान्त्रिक व्यवस्था, नेपालको संविधान र कानुनविपरीत रहेको जिकिर गर्दै ज्ञापनपत्रमा जनप्रतिनिधिबाट नै यस्तो अमानवीय हर्कत हुनु दुःखद्, निन्दनीय र दण्डनीय विषय रहेको औँल्याइएको छ।
वडाध्यक्ष यादवसहित उनका सहयोगीहरू सोमबार बिहान साहको निजी जग्गामा एकतर्फी रूपमा जबर्जस्ती सडक निर्माण गरिएपछि विरोध गर्दा उल्टै अतिक्रमण हटाउन अवरोध गरेको भन्दै बाँधेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। औरही– ३, पिप्रा टोलमा करिब एक वर्षअघि कृषि सडक निर्माण गर्ने क्रममा दुवैतिरबाट जग्गा नलिई एकतर्फी रूपमा आफ्नो मात्र जग्गा लिइएको पीडित साहको गुनासो छ।
सडक अतिक्रमण खाली गराउने भन्दै सोमबार बिहान वडाध्यक्षसहितको टोली आएपछि पीडित साहले आफ्नो मात्र जग्गा कब्जा गरेर सडक बनाउन खोजिएको गुनासो गर्दै विरोध गरेका थिए। त्यसपछि वडाध्यक्ष यादवले उनको हात बाँधेर दुर्व्यवहार गर्दै सडक खाली गराएको स्थानीय बताउँछन्।