प्राइभेट स्क्रिनिङमा रुचाइयो ‘एक मुठ्ठी बादल’

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

आगामी शुक्रबार अर्थात् जेठ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को प्राइभेट स्क्रिनिङ गरिएको छ । जहाँ सिनेमा हेर्न पूर्वप्रधानमन्त्री सुशीला कार्की, कांग्रेस नेता सुनीलकुमार थापा, संगीता थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमनप्रताप अधिकारीलगायतका थुप्रै विशिष्ट व्याक्तिहरू पुगेका थिए ।

सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘एक मुठ्ठी बादल’ निकै मन परेको बताइन् । ‘म सिनेमाचाहिँ बहुत कम हेर्ने मान्छु हुँ । सिनेमा ज्यादै कम हेर्छु । अहिले हेरेँ भने पनि पुरानो सिनेमाहरू हेर्छु । अब हाम्रो नीताजी, यो सिनेमा बनाउने मान्छे निर्माताको आमाचाहिँ एउटै कम्युनिटी न्यायाधीश, उहाँहरूले निमन्त्रणा दिनुभयो । अनि त्यसपछि हुन्छ भनेर म आएँ । अब सिनेमाको मूल्यांकन भन्नहुन्छ भने सबैले आफ्‌नो–आफ्‌नो दृष्टिकोणबाट हेर्नुहुन्छ ।’

पूर्वप्रधानमन्त्री कार्कीले अगाडि भनिन्, ‘मलाई यो सिनेमा आर्ट सिनेमाजस्तो लाग्छ । दोस्रो नम्बरमा यसले अहिलेको समाज देखाएको छ । तेस्रो नम्बरमा यो मध्यमवर्गीय परिवारको कथा हो । अनि मात्र मलाई लाग्छ, दुई दिन अर्थात् एक रात र भोलिपल्टको कथा हो । अझै भनौँ– समाजको द्वन्द्व पनि हो । मानौँ बाउआमा पुरानो पुस्ता र छोराछोरी जेन–जी । अहिलेको सन्तानमा पुरानो संस्कारलाई एसेप्ट गर्न अलि गाह्रो नै पर्छ । आधुनिक र पारिवारिक समाजबिचको टकरावलाई सिनेमामा हेर्न पाइन्छ ।’

‘त्यसमाथि मध्यमवर्गीय परिवारमा आर्थिक हैसियत नमिलेको एउटा छोरीको त्यस्तै परिवारमा बिहे भएको छ । ज्वाइँ अलि हेपिएको पनि देखिन्छ । एउटा छोरी अमेरिकाबाट पढेर आएकी छ । जसको आमाबाउले आफ्‌नो सम्पत्ति बेचबाच गरेर भए पनि सन्तानको खुसीका लागि बाहिर पठाउँछन् । उसको राम्रो घर–परिवारमा बिहे हुन्छ । त्यसले कसरी परिवारको असमानता देखाउँछ भन्ने सिनेमाले देखाएको छ,’ उनले भनिन् ।

यता, सुनीलकुमार थापाले पनि सिनेमाले देखाउन खोजेको सन्देश मार्मिक रहेको बताए । रियालिटी साेका निर्देशक अमनप्रताप अधिकारीले नेपालमा बनेको अहिलेसम्मकै उत्कृष्ट सिनेमा ‘एक मुठ्ठी बादल’ रहेको बताए । नेपाली सिनेमाबारे कसैले सोधे ‘एक मुठ्ठी बादल’ हेर्न सिफारिस गर्न आग्रह उनले गरेका थिए ।

साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको वेशभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । सिनेमामा मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रूपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

सिनेमाका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

सुझावित समाचार