श्रममन्त्री यादवका चालक अपहरण र लुटपाट आरोपमा पक्राउ

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवका चालक मुस्तकिम मियाँ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महदेवा गाउँपालिका– १ निवासी २७ वर्षीय मियाँलाई सोमबार राजविराज नगरपालिका– ८ बाट पक्राउ गरिएको हो। पक्राउपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत सप्तरीबाट सात दिनको म्यादसमेत लिइएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

प्रहरीका अनुसार मियाँसहितको समूहले ०८२ फागुन १४ गते राजुकुमार चौधरीलाई अपहरण गरी लुटपाट गरेको आरोप छ। सो दिन बिहान करिब ८ बजे राजविराज नगरपालिका– ३ स्थित हनुमानचोकमा मुस्तकिम मियाँ बा.९९ प ५७७५ नम्बरको मोटरसाइकलमा थप तीनजना लिएर पुगेका थिए।

दुईवटा मोटरसाइकलमा आएका उनीहरूले बन्दुक देखाएर चौधरीलाई नियन्त्रणमा लिई राजविराज नगरपालिका– ८ स्थित हिमालय राइस मिलपछाडि रहेको ‘पर्वत’ भनिने सुनसान खाली चौरमा लगेर बन्धक बनाई कुटपिट गरेको पीडितको आरोप छ।

सुझावित समाचार