चालू आर्थिक वर्ष ०८२/८३ को चैतमा पछिल्लो १७ महिनामै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले चैतमा मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको जनाएको छ । अघिल्लो आव ०८१/८२ को मंसिरमा मुद्रास्फीति ६.०५ थियो । गत आवको चैतमा भने यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आवको पुसमा ५.४१ रहेको मुद्रास्फीति कात्तिकमा भने ५.६ प्रतिशत रहेको थियो ।
०८२/८३ को नौ महिनामा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.४ प्रतिशतले वृद्धि भएको थियो । सोही अवधिमा कुल वस्तु आयात १३.८ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ । निर्यात १८.५ प्रतिशतले बढेर दुई खर्ब २२ अर्ब ९४ करोड कायम भएको छ ।
चालू आवको नौ महिनामा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेको छ । यस अवघिमा १६ खर्ब ५९ अर्ब ४१ करोड रेमिट्यान्स पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । चैत महिनामा मात्रै रेमिट्यान्स आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको चैतमा एक खर्ब ३९ अर्ब ५४ करोड रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा चालू खाता ६ खर्ब १८ अर्ब ६८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब २२ अर्ब ६७ करोडले बचतमा थियो । नौ महिनामा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब ९४ करोड थियो । त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा थियो ।
०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर थियो । नौ महिनामा कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भई ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको छ । नौ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
चैत मसान्तसम्मको देशको अर्थचित्र
- ०८२ चैत महिनामा मुद्रास्फीति ४.४७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत थियो ।
- कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ छ । अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ५५ करोड पुगेको छ । यस्तो सञ्चिति १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
- चालू खाता ६ खर्ब १८ अर्ब ६८ करोड र शोधनान्तर सात खर्ब ३१ अर्ब १६ करोड बचतमा छ ।
- रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतले र अमेरिकी डलरमा ३१.९ प्रतिशतले बढेको छ । चालू आवको चैतमा रेमिट्यान्स आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड छ ।
- निर्यात १८.५ प्रतिशतले र आयात १३.८ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८.५ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ ।
- नौ महिनामा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।