कोशी प्रदेश सरकारले खेलकुद ऐन संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । कोशी प्रदेश सरकारको सोमबार मन्त्रिपरिषद्को बैठकले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद ऐन संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रदेशका खेलकुद क्षेत्र विकास गर्न प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेशको विकास र प्रशासनसँग खेलकुद ऐन संशोधन गराउन अध्यादेश ल्याउन स्वीकृति प्रदान गर्नेसहित मन्त्रिपरिषद् बैठक विभिन्न निर्णय गरेको बताए ।
‘अध्यादेशपछि कोशी प्रदेशका खेलकुद विकासमा टेवा पुग्ने विश्वास हामीले लिएका छौँ,’ सरकारका प्रवक्ता पराजुलीले भने । प्रदेश सरकारले २०७५ मा प्रदेशको आफ्नै खेलकुद विकास बोर्ड रहने गरी ऐन निर्माण गरेको थियो ।