इन्डियन प्रिमियर लिग : चेन्नई अंक तालिकाको पाँचौँ स्थानमा

पछिल्ला पाँचमध्ये चार खेलमा जित निकाल्दै चेन्नई सुपर किंग्सले तालिकामा १२ अंक जोडेको छ

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

चेन्नई सुपर किंग्स १९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को पाँचौँ स्थानमा उक्लिएको छ । चेन्नईले पछिल्ला पाँचमध्ये चार खेलमा जित निकाली अंक तालिकामा सुधार गरेको हो । आइपिएलअन्तर्गत ५३औँ खेलमा चेन्नईले आइतबार लखनउ सुपर जायन्टमाथि पाँच विकेटको सानदार जित निकाल्यो । पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा आठ विकेट गुमाएर २०३ रनको बलियो योगफल खडा गर्यो ।

प्रत्युत्तरमा चेन्नईले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा २०८ रन बनायो । चेन्नईका लागि शिभम दुबेले विजयी छकका प्रहार गरेका थिए । दुबे र प्रशान्त बिरबिच छैटौँ विकेटका लागि १९ बलमा ३९ रनको साझेदारी हुँदा जित सम्भव भएको हो । उनीहरूको नटआउट साझेदारीअघि चेन्नई १६.१ ओभरमा १६९÷५ को अवस्थामा थियो । चेन्नईले ११ खेलमा ६ जित र पाँच हार निकाली १२ अंक जोडेको छ । अंकतालिकाको पुछारमा लखनउ रह्यो । लखनउले समान खेलमा तीन जित र आठ हार निकालेको छ । शीर्ष स्थानको सनराइजर्स हैदराबादले ११ खेलमा १४ अंक जोेडेको छ ।

दोस्रो स्थानको गुजरात टाइटन्सले १४ अंक बटुल्न सात जित र चार हार निकालेको छ । सुरुवाती खेलमा उत्कृष्ट जित निकालेको राजस्थान रोयल्स भने पछिल्लो समय गतिलो प्रदर्शन गर्न चुकेको छ । राजस्थानले ११ खेलमा ६ जित र पाँच हारका साथ १२ अंक जोडेको छ । राजस्थान छैटो स्थानमा छ । साबिक विजेता रोयल च्यालेन्जर्स बेंग्लोर १२ अंकका साथ चौथो र पन्जाब किंग्स १३ अंकका साथ तेस्रो स्थानमा छन् । 

पटेलको आक्रामक  अर्धशतकीय योगदान
चेन्नईले २०४ रनको लक्ष्य पछ्याउँदा शीर्ष चार ब्याट्सम्यानबाट आक्रामक योगदानको साथ पाएको थियो । ओपनर सन्जु सामसन र कप्तान ऋतुराजले पहिलो विकेटका लािग ३.४ ओभरमा ४५ रन जोडेका थिए । सन्जुले १४ बलमा तीन चौका र दुई छक्का प्रहार गरी २८ रन जोडे । त्यसपछि ऋतुराज र उभिल पटेलले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गर्दै टोलीलाई ९.२ ओभरमा १२६÷२ को बलियो स्थितिमा राखे । आक्रामक रूपमा अर्धशतकीय इनिङ्स खेलेका पटेलले २३ बलमा आठ छक्का र दुई चौकाको सहयोगमा ६५ रनको योगदान दिए । 

कप्तान ऋतुराजले २८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४२ रन बटुले । यसैगरी कार्तिक शर्माले २० बलमा २० तथा प्रशान्तले १२ बलमा १७ रनको योगदान दिए । चेन्नईलाई विजयी छक्का प्रहार गरेका दुबेले सात बलमा दुई छक्का प्रहार गरी १५ रन जोडेका थिए । बलिङमा लखनउका लागि दिभेस रथीले ४५ रन खर्चेर दुई विकेट लिए । 

लखनउको मध्यक्रम कमजोर
पहिलो ब्याटिङ गरेको लखनउको मध्यक्रम कमजोर देखिएको थियो । यद्यपि, लखनउले चेन्नईलाई बलियो लक्ष्य दिए पनि मध्यक्रमबाट गतिलो साथ नपाउँदा विशाल योगफल बनाउनबाट लखउन चुक्यो ।  ओपनर जोस इंलिसले आक्रामक रूपमा ३३ बलमा ६ छक्का र १० चौका प्रहार गरी सर्वाधिक ८५ रनको योगदान दिएका थिए । सहवाज अहमदले २५ बलमा समान तीन चौका र छक्का प्रहार गरी ४३ रन बनाए । लखनउको मध्यक्रमका निकोलास पुरनले १, कप्तान ऋषभ पन्तले १५, एडेन माक्रामले ६ र हिमन्त सिंहले १७ रन बनाएका थिए । बलिङमा जेमिए ओभर्टनले ३६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । 

सुझावित समाचार