पछिल्लो समय नेपाली युवामा लागुऔषध प्रयोगको अवस्था कस्तो छ ?
नेपाली युवामा लागुऔषध प्रयोगको अवस्था एकदमै भयावह छ । रक्सी, गाँजा या अन्य लागुऔषध उत्पादन कारखाना छन्, बेच्ने डिलर, सबडिलर सबै छन् । तर, त्यसको रोकथाम गर्ने अफिस कहीँ छैन । अनि दुर्व्यसन बढ्नु के अनौठो भयो र ? लागुऔषधको प्रयोग रोक्न पाँचवटा काम तत्काल गर्नुपर्छ । १. पहिले कहिल्यै लागुऔषध सेवन नगरेकालाई सेवन गर्न नदिने । २. सेवन गरेकालाई पहिचान गर्ने । ३. पहिचान गरिएकालाई रिह्याबलगायतमा राखेर उपचारको व्यवस्था गर्ने । ४. रिह्याबबाट फर्केकालाई समाजमा पुनर्स्थापना गर्ने । ५. कारबाही गर्ने ।
लागुऔषध कारोबार र प्रयोग रोकथाममा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कति सक्षम छ ?
प्रहरीमा त अपराध भइसकेपछि या लागुऔषधको कारोबार र सेवन भइसकेपछि मात्र आउने हो । त्यसैले, प्रहरीमा आइपुग्नुअघि नै रोकथामबारे सबै जागरुक हुनुपर्छ । लागुऔषधको कारोबार रोक्ने भनेको सेवन घटाउने हो । जब समाजमा लागुऔषधका दुर्व्यसनी घट्दै जान्छन्, तब यसको कारोबार पनि स्वतः घट्छ । विदेशतिर दुर्व्यसनीको उपचार राज्यले गरिदिन्छ । तर, हामीकहाँ राज्यले केही हेर्दैन । लागुऔषधको रोकथाममा बजेट पनि अत्यन्त न्यून छ र जनशक्ति पनि पर्याप्त छैन ।
यसमा स्थानीय तहको भूमिका कस्तो छ ?
लागुऔषधको प्रयोग रोकथाम गर्ने मुख्य दायित्व नै स्थानीय सरकारको हो । देशभर ७५३ स्थानीय सरकारले आ–आफ्ना क्षेत्रमा कम्तीमा एउटा रिह्याब खोलेर उपचार र त्यसपछि समाजमा पुनर्स्थापनाको काम सुरु गर्ने हो भने यो समस्या स्वतः कम हुन्छ । संसारका ८० प्रतिशतभन्दा बढी अपराधको पछाडि ड्रग्स जोडिएको हुन्छ । त्यसैले, यसलाई नरोकी समाजलाई सुरक्षित बनाउन सकिन्न भन्ने चेत स्थानीय सरकारहरूमा पलाउनु जरुरी छ ।