देउवादम्पती ‘भूमिगत’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २५ चैतमा पक्राउ पुर्जी जारी गरेपछि हङकङबाट विज्ञप्ति निकालेर आफ्नो सम्पत्तिसम्बन्धी गरिएको प्रचार झुटो भएको बताएका देउवा त्यसयता सम्पर्कविहीन

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण
देउवादम्पती ‘भूमिगत’

छोराबुहारीसहित देउवादम्पती हङकङमा घुमिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो

सिंगापुरबाट चैत पहिलो साता हङकङ पुगेका देउवादम्पती त्यहाँबाट नबाहिरिएको प्रहरीको सूचना

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा एक महिनादेखि सम्पर्कविहीन छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २५ चैतमा पक्राउ पुर्जी जारी गरेलगत्तै उनीहरू सम्पर्कविहीन बनेका हुन् । यद्यपि, उनीहरूलाई इन्टरपोलको सहयोगमा भए पनि स्वदेश झिकाउन प्रहरीले पहल गरिरहेको छ ।पक्राउ पुर्जी जारी गर्नुअघि नै हङकङ गएका उनीहरूविरुद्ध विभागले प्रहरीमार्फत रेड नोटिस जारी गर्न दुईपटक पत्राचार गरिसकेको छ । प्रहरीको सूचनामा देउवादम्पती हङकङमै छन् ।

‘उहाँहरू (देउवादम्पती) अहिले पनि हङकङमै रहेको सूचना प्राप्त भएको छ । ठ्याक्कै लोकेसनचाहिँ ट्र्याक  हुन सकेको छैन । हामीले विभिन्न स्रोत परिचालन गरेका छौँ । हङकङ गएदेखि उहाँहरू बाहिरिएको रेकर्ड प्राप्त नभएको सूचना त्यहाँको सरकारी  संयन्त्रले दिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘त्यसैले उहाँहरू हङकङमै रहेको हाम्रो निष्कर्ष छ ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र राणाको सम्पत्तिका सम्बन्धमा छानबिन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा उनीहरूको बुढानीलकण्ठस्थित निवासबाट प्रदर्शनकारीले पैसा फेला पारेको भिडियो सार्वजनिक गरेका थिए । निवाससँगै पैसा जलेको भिडियो पनि सार्वजनिक भएको थियो । देउवाले उक्त भिडियो ‘फेक’ भएको दाबी गरे पनि विभागले विस्तृत अनुसन्धान गरी सत्यतथ्य जाँच गरेको थियो । विभागले देउवाको घरमा भेटिएको पैसा र त्यससम्बन्धी सार्वजनिक भिडियो ‘फेक’ नभएको निष्कर्ष निकालिसकेको छ । 

अनुसन्धानपछि विभागले काठमाडौं जिल्ला अदालतसँग उनीहरूविरुद्ध पक्राउ अनुमति माग गरेको थियो । अदालतले त्यही वेला उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । हङकङमा रहेको सूचना आएपछि विभागले रेड नोटिस जारी गर्नका लागि प्रक्रिया मिलाउन नेपाल प्रहरीलाई  पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा प्रहरीले देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)लाई पत्र लेखेको थियो । तर, कागजात नपुगेको भन्दै इन्टरपोलले नोटिस जारी  गर्न अस्वीकार गरेको थियो । माग भएबमोजिमको कागजात मिलाएर प्रहरीले दोस्रोपटक रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको छ । नेपाल प्रहरीका उच्च अधिकारीले देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पुनः पत्राचार भएको स्वीकार गरे । 

उनले भने, ‘उहाँहरूविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पुनः पत्राचार गरिएको छ । यसअघि भने उहाँहरूले नोटिस जारी गर्न मान्नुभएन । कागजात नपुगेको उहाँहरूको भनाइ थियो । अहिले आवश्यक सम्पूर्ण कागजात पूरा गरेर पत्राचार गरेका छौँ । अब भने रेड नोटिस जारी हुन्छ होला ।’

विभाग स्रोतका अनुसार देउवाको नाममा भौतिक सम्पत्ति देखिँदैन । तर, उनकी पत्नी राणा र छोरा जयवीरसिंह देउवाको नाममा भने मुलुकभर ११५ रोपनी आठ आना जग्गा रहेको देखिन्छ । जसमध्ये आरजुको नाममा ३९ रोपनी १५ आना र जयवीरको नाममा ७५ रोपनी नौ आना जग्गा छ । 

विभागका अनुसार राणाको नाममा डडेलधुराको खलंगा, कैलालीको धनगढी, मकवानपुरको हेटौँडा र बर्दियाको ढोडरीमा जग्गा छ । त्यस्तै, जयवीरको नाममा काठमाडौंको बुढानीलकण्ठ, कास्कीको ढिकुरपोखरी, कञ्चनपुरको कृष्णपुर र बर्दियाको ढोडरीमा जग्गा छ । जयवीरको नाममा रहेको अधिकांश सम्पत्ति ०७४ देखि ०७८ मा नामसारी भएको देखिन्छ । तर, उनको आम्दानीको स्रोत भने देखिँदैन । 

विभाग स्रोतका अनुसार राणा र जयवीरको नाममा रहेको केही सम्पत्ति पुर्ख्यौली स्रोतबाट नामसारी हुँदै आएको देखिन्छ । बाँकी जग्गाको भने बलियो स्रोत देखिँदैन । सोही आधारमा उनीहरूविरुद्ध अनुसन्धान भएको र पक्राउ पुर्जी जारी भएको स्रोतको दाबी छ । 

विभागका अनुसार देउवादम्पती र छोरा जयवीरको बैंक खाता तथा उनीहरूको कारोबारका सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । तर, देउवाको बैंक खातामा ठुलो कारोबार खासै भएको देखिँदैन । तर, पत्नी राणा र छोरा जयवीरको खातामा भने अस्वाभाविक कारोबार भएको देखिएको छ । उनीहरूका नाममा रहेका सबै खाता र कारोबारको सूक्ष्म अनुसन्धान गरेको विभाग स्रोतले जनायो ।  

‘शेरबहादुर देउवाको बैंक खातामा खासै कारोबार भएको देखिँदैन । तर, आरजु र जयवीरको खातामा भने ठुलो कारोबार भएको देखिन्छ  । त्यसमध्ये कतिपय कारोबार अस्वाभाविक देखिन्छ । सोही आधारमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो,’ स्रोतले भन्यो, ‘आवश्यक परेको अवस्थामा जयवीरविरुद्ध पनि पक्राउ पुर्जी जारी हुन सक्छ ।’ 

रेड नोटिस नेपाल प्रहरीले मात्रै जारी गर्न सक्छ । जसका लागि उसले आवश्यक कानुनी प्रक्रिया पूरा गरी इन्टरपोललाई अनुरोध गर्न सक्छ । वारेन्ट जारी भएका फरार अभियुक्तको खोजी गर्न रेड नोटिस जारी हुन सक्छ । त्यस्तै, पक्राउ पुर्जी जारी नभएका, तर विवरण आवश्यक परेको खण्डमा प्रहरीले इन्टरपोलमार्फत सम्बन्धित व्यक्तिविरुद्ध डिफ्युजन नोटिस जारी गर्न सक्छ । वारेन्ट जारी भएको हुँदा देउवादम्पतीको हकमा प्रहरीले नोटिस जारी गर्न सक्छ । 

देउवा गत १३ फागुनमै उपचारका लागि सिंगापुर उडेका थिए । आरजु त्यसको एक साताअघि नै भारत गएकामा उतैबाट सिंगापुर गएकी थियन। सिंगापुरबाट ७ चैतमा देउवा दम्पती हङकङ पुगेका थिए । विभागले पक्राउ पुर्जी जारी गरेपछि देउवाले सोही दिन सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो र परिवारका सदस्यको सम्पत्तिलाई लिएर भ्रामक प्रचार भइरहेको दाबी गरेका थिए । 

‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु ।’

देउवाले आफू खुला किताब रहेको र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न आफू गृहमन्त्री भएकै वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बनेको बताएका थिए  । त्योसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ समेत आफ्नै प्रधामन्त्रीकालमा कार्यन्वयन भएको उनको भनाइ थियो । 

विज्ञप्तिमा उनले लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शितासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्छ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यतीत गरेकोसमेत बताएका थिए । त्यसयता भने उनी कतै पनि सार्वजनिक भएका छैनन् । 

देउवादम्पती आफूनिकट नेतासँग समेत सम्पर्कमा छैनन् । कांग्रेसका तत्कालीन प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवादम्पती सम्पर्कमा नभएको बताए । ‘उहाँहरू उपचारका लागि विदेश जानुभएको हो । उहाँहरू अहिले मेरो सम्पर्कमा हुनुहुन्न,’ उनले भने । 

निवास भत्काउन रोक 
काठमाडौंको बुढानीलकण्ठस्थित चपलीमा जयवीरको नाममा ९६६ वर्गमिटर जग्गा छ । कित्ता नम्बर ४४ मा रहेको सोही जग्गामा शेरबहादुरले आफ्ना लागि निवास बनाएका थिए । गत २४ भदौमा भएको जेन–जी आन्दोलनमा देउवादम्पती सोही निवासमा थिए । जबर्जस्ती घरभित्र प्रवेश गरेका प्रदर्शनकारीले घर तोडफोड मात्रै गरेनन्, आगो लगाएर खरानी बनाए । घरमा रहेका देउवादम्पतीलाई कुटपिट गरे ।

सेनाले हेलिकोप्टरबाट उद्धार गरेर उनीहरूको ज्यान जोगाएको थियो । आगजनीका लागि घरको चोटाकोठा चहार्ने क्रममा युवाहरूले ठुलो परिमाणमा लुकाइराखेको रकम फेला पारे । आक्रोशित युवाले उक्त रकममा पनि आगो लगाएर खरानी परे । खण्डहर बनेको उक्त घर देउवादम्पती विदेश रहेकै वेला भत्काउन सुरु गरियो । तर, अहिले रोकिएको छ । आवश्यक प्रमाण नष्ट हुने देखिएपछि विभागकै निर्देशनमा भवनका भग्नावशेष भत्काउन बन्द गरिएको हो ।

देउवादम्पतीलाई झिकाउन दोस्रोपटक इन्टरपोललाई पत्राचार
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवादम्पतीको सम्पत्तिका सम्बन्धमा छानबिन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा उनीहरूको घरमा भेटिएको पैसा र त्यससम्बन्धी सार्वजनिक भिडियो ‘फेक’ नभएको निष्कर्षपछि विभागले काठमाडौं जिल्ला अदालतसँग देउवादम्पतीविरुद्ध पक्राउ अनुमति माग गरेको थियो । अदालतले त्यही वेला उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

हङकङमा रहेको सूचना आएपछि विभागले ‘रेड नोटिस’ जारी गर्नका लागि प्रक्रिया मिलाउन नेपाल प्रहरीलाई  पत्राचार गर्‍यो । त्यसकै आधारमा प्रहरीले देउवादम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई पत्र लेखेको थियो । तर, कागजात नपुगेको भन्दै इन्टरपोलले नोटिस जारी गर्न अस्वीकार गरेको थियो । माग भएबमोजिमको कागजात मिलाएर प्रहरीले दोस्रोपटक ‘रेड नोटिस’ जारी गर्न इन्टरपोललाई पत्राचार गरेको छ । नेपाल प्रहरीका उच्च अधिकारीले देउवादम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पुनः पत्राचार गरिएको बताएका छन् । 

देउवा शक्तिमा हुँदा आरजुको सधैँ रजगज : भुटानी शरणार्थी प्रकरणदेखि प्रहरीको सरुवा–बढुवा र ठुला ठेक्कासम्ममा विवादित

  •  मुलुकमा प्रजातन्त्र पुनर्स्थापनापछि शेरबहादुर देउवा सातपटक सांसद, एकपटक गृहमन्त्री र पाँचपटक प्रधानमन्त्री भए । आर्थिक चलखेलका कारण उनको सबै कार्यकाल विवादरहित बन्न सकेन । कारण थियो, उनकी पत्नी आरजु राणा । विशेष गरी  राजनीतिक नियुक्ति र ठेक्का सम्झौतामा आरजुले देउवालाई प्रभावमा पार्ने गर्थिन् । हुँदा–हुँदा प्रहरीको सरुवा र बढुवामा  समेत आरजुको हस्तक्षेप चल्थ्यो । 
  •  १८ वैशाखमा ०७९ मा चौथो वरीयतामा रहेका तत्कालीन एआइजी धीरजप्रताप सिंहलाई आइजिपीमा नियुक्ति गरियो । डिआइजी रहेका सिंहलाई आरजुकै जोडबलमा एआइजी बनाइएको थियो । पछि उनैलाई आइजिपी नियुक्त गरियो । जबकि उनीभन्दा एआइजी  विश्वराज पोखरेल डेढ वर्ष सिनियर थिए । त्यसअघि चौथो वरीयतामै रहेका हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तका रूपमा रहेका जयबहादुर चन्दलाई पनि जबर्जस्ती आइजिपी नियुक्त गरिएको थियो ।  तर, फुली लगाउन नपाउँदै अदालतले हस्तक्षेप गर्‍यो र उनको ठाउँमा दोस्रो वरीयताका अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी बनाइयो । यसमा पनि आरजुकै भूमिका थियो ।
  •  तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको पालामा नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सपना बाँडियो । त्यसबापत करोडौँ रुपैयाँ उठाइयो । घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गर्‍यो । दुईपटक गरिएको अनुसन्धानमा ३५ जनाविरुद्ध ३० करोड १९ लाख ६६ हजार ६०० रुपैयाँ बिगोसहित अदालतमा मुद्दा दर्ता भयो । घटनामा खाणसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सांसद आङटावा शेर्पालगायत उच्चपदस्थ पक्राउ परे । सोही घटनामा आरजु पनि संलग्न रहेको अडियो सार्वजनिक भयो । आरजुविरुद्ध प्रहरीमा जाहेरी पनि पर्‍यो । तर, अनुसन्धान प्रक्रिया अघि बढेन ।
  •  सुरक्षण मुद्रण केन्द्रदेखि पेमेन्ट गेट–वे र नेपाल टेलिकमको बिलिङ प्रणालीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी पर्‍यो । घटनामा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललगायत संलग्न रहेको खुल्यो । त्यसवेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए, डा. बैकुण्ठ अर्याल । पेमेन्ट गेट–वे र नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का सम्झौताका क्रममा सुनील र विकललाई ठेकेदार कम्पनीसँग उनैले सहजीकरण गरिदिएका थिए । जसका पछि थिइन् आरजु आरजु । आरजुकै दबाबपछि डा. अर्याललाई मुख्यसचिव नियुक्त गरिएको थियो । 
  •  कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको सरकारी जग्गा टीकापुर विकास समितिको नाममा ल्याइयो । पछि सोही जग्गा राजनीतिक दलका नेता तथा कार्यकर्तालाई बाँडियो । यसका लागि नक्कली कागजात निर्माण गरिएका थिए । यसरी जग्गा लिनेमा आरजु पनि थिइन् । प्राप्त कागजातअुनसार उनले जग्गा प्राप्तिका लागि १३ वैशाख ०५४ मा निवेदन दिइएकी थिइन् । सोही निवेदनका आधारमा उनलाई १५ वैशाख ०५४ मा विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी दिइएको थियो ।

सुझावित समाचार