साहित्यकार विष्णुभक्त राई ‘विभरा किराँती’को कवितासंग्रह ‘आदिम फूल’ बजारमा आएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपामा जन्मिएर हाल ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा बसोवास गर्दै साहित्य सिर्जनामा सक्रिय विभरा किराँतीले आफ्नो चौथो कृतिका रूपमा ‘आदिम फूल’ कवितासंग्रह प्रकाशन गरेका हुन्।
नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराँती सभ्यता र संस्कृतिलाई केन्द्रमा राखेर प्रकाशित कवितासंग्रह ‘आदिम फूल’ मा ३८ वटा फुटकर कविता समेटिएका छन्। नेपाली समाजका वर्गीय, जातीय, सांस्कृतिक तथा राजनीतिक परिवेशलाई समेत समेटिएको उक्त संग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले औपचारिक रूपमा विमोचन गरेका हुन्।
विमोचन कार्यक्रममा बोल्दै प्राध्यापक डा. गौतमले विभरा किराँतीका कवितामा चित्रात्मकता र संकेतात्मकता दुवै पक्ष सशक्त रूपमा अभिव्यक्त भएको बताए। 'कविता चित्रात्मक र संकेतात्मक हुन्छन्। विभरा किराँतीका कवितामा त्यो दुवै भेटिन्छ,उनले भने, 'यो आदिम फूल कवितासंग्रहले साहित्यकार विभरा किराँतीलाई नयाँ उचाइमा पुर्याएको छ। आगामी दिनमा पनि निरन्तर साहित्य सिर्जनामा सक्रिय रहन आग्रह गर्दछु।'
अंग्रेजी साहित्यमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उत्तीर्ण विभरा किराँती साहित्य लेखनसँगै ललितपुरस्थित पवन प्रकृति स्कुलमा सहायक प्रधानाध्यापकका रूपमा कार्यरत छन्। कवितासंग्रहको विमोचन कार्यक्रम विद्यालयको नेपाली विषय विभागले आयोजना गरेको हो।
शिक्षण पेसासँगै पाठ्यपुस्तक लेखन तथा साहित्य सिर्जनामा सक्रिय विभरा किराँतीले यसअघि पनि विभिन्न कृतिहरू प्रकाशित गरिसकेका छन्। उनले विष्णु आश्रित नामबाट वि.सं. २०५९ मा ‘सुनको फूल’ गीतिसंग्रह, २०६१ मा ‘ताराहरूको बस्तीमा’ कवितासंग्रह तथा २०६६ मा ‘त्रिवेणी’ गीति एल्बम सार्वजनिक गरेका थिए। साथै, वि.सं. २०६३ मा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत लेखन प्रतियोगितामा उनका तीनवटा गीत छनोटमा परेका थिए।
प्रतियोगितामा छनोट भएको साहित्यकार विष्णु आश्रितको गीतले स्वरतर्फ दोस्रो पुरस्कारसमेत प्राप्त गरेको थियो। ‘रुखबाट पुरानो पात झर्न बाँकी’ बोलको गीतमा शिला विष्टको स्वर तथा केशव पौडेलको संगीत रहेको थियो।
साहित्यकार विभरा किराँतीका कविताहरू आफ्नै जीवनका भोगाइसँग नजिक भएकाले संग्रह प्रकाशनमा सहयोग गरेको प्रकाशक अप्सरा दालोमा विष्टले बताइन्। कार्यक्रममा सहभागी महालक्ष्मी नगरपालिका–५ का वडाध्यक्ष कपिल केसीले ‘आदिम फूल’ कवितासंग्रहका लागि आफूले पाउने सेवासुविधाबापतको एक महिनाको रकम सहयोग गर्ने घोषणा गरेका थिए।
पवन प्रकृति स्कुलका प्रधानाध्यापक उत्तरकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले संग्रहमा समेटिएका कविताहरू वाचन गरेका थिए। कार्यक्रममा साहित्यसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधि तथा साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।