गृहले ०७६ मा गरेको सर्वेक्षणअनुसार मुलुकभर लागुऔषध दुर्व्यसनीको संख्या एक लाख ३० हजार ४२४ थियो । उक्त सर्वेक्षणले प्रत्येक वर्ष ५.०६ प्रतिशतले दुर्व्यसनी बढेको देखाएको थियो । यसलाई आधार मान्दा ०८२ सम्म मुलकुभर दुर्व्यसनीको संख्या एक लाख ७५ हजार ३८१ पुगेको देखिन्छ । यो ०७६ को भन्दा ४४ हजार ९५७ ले धेरै हो ।
तथ्यांकअनुसार दुर्व्यसनीको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको देखिन्छ । ०७६ मा यो संख्या ४६ हजार ४८० थियो । ०८२ मा यो बढेर ६२ हजार ४९६ पुगेको देखिन्छ । त्यसपछि कोशी प्रदेशमा दुर्व्यसनीको संख्या धेरै छ । ०७६ मा उक्त प्रदेशमा २७ हजार ६०४ दुर्व्यसनी थिए, ०८२ मा यो संख्या ३७ हजार ११८ पुगेको देखिन्छ ।
लुम्बिनी प्रदेशमा पनि दुर्व्यसनीको संख्या अधिक छ । ०७६ मा यो संख्या २५ हजार ९३० थियो भने ०८२ मा यो बढेर ३४ हजार ८७४ पुगेको छ । त्यस्तै, मधेश प्रदेशमा ०७६ मा १५ हजार ८४२ दुर्व्यसनी थिए । ०८२ मा आइपुग्दा यो संख्या २१ हजार २९८ पुगेको छ ।
गण्डकीमा ०७६ मा दुर्व्यसनी आठ हजार ९५४ थिए । ०८२ मा यो संख्या १२ हजार ३९ पुगेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा दुर्व्यसनी ०७६ मा तीन हजार ८०४ थियो । ०८२ मा यो संख्या बढेर पाँच हजार १२८ पुगेको छ । कर्णाली प्रदेशमा यस्ता दुर्व्यसनी ०७६ मा एक हजार ८१० थिए भने ०८२ मा बढेर दुई हजार ४२८ पुगेको छ । गृहप्रवक्ता आनन्द काफ्ले मुलुकभर लागुऔषध दुर्व्यसनीको संख्या सोचेभन्दा भयावह रहेको बताउँछन् ।
उनी भन्छन्, ‘०७६ मा गरिएको सर्वेक्षणले मुलुभर एक लाख ३० हजारको हारहारीमा दुर्व्यसनी रहेको देखाउँछ । प्रत्येक वर्ष ५.०६ का दरले दुर्व्यसनी बढ्ने गर्छ । यही दरमा बढ्दा मुलुकभर झन्डै दुई लाखको हराहारीमा दुर्व्यसनी पुग्न सक्छन् । तर, मुलुकभर यो भन्दा ठुलो संख्यामा दुर्व्यसनी रहेका छन् । जसको अवस्था भयावह छ ।’