बागमती प्रदेशका विभिन्न जिल्लामा चट्याङ र सवारी दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सिन्धुली, चितवन र नुवाकोटमा भएका घटनामा एकजना बालक र दुईजना वृद्धवृद्धाको मृत्यु भएको हो ।
सिन्धुलीको दुधौली नगरपालिका– ४, पाखाभित्तामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । शनिबार साँझ अविरल वर्षासँगै परेको चट्याङ लागेर स्थानीय ७० वर्षीय पूर्णबहादुर बुढाथोकी घाइते भएका थिए । घरनजिकैको मकैबारीमा घाँस काट्न गएका उनी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा राति ९:४५ बजे घाइते अवस्थामा फेला पारेका थिए । उपचारका लागि नगर अस्पताल सिर्थौली लगिएकोमा चिकित्सकले करिब ११ बजे उनलाई मृत घोषणा गरेका हुन् ।
यता, चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका आठ वर्षीय बालक इसाक प्रजाको उपचारका क्रममा मृत्यु भएको छ । वैशाख २१ गते पूर्व–पश्चिम राजमार्गमा सडक पार गर्ने क्रममा बा.प्र.०३–००१ ख ११९७ नम्बरको टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते प्रजाको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेकोमा वैशाख २६ गते बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यस्तै, चितवनकै रत्ननगर नगरपालिका– १४, घोलचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । शनिबार साँझ ग.८प २००८ नम्बरको मोटरसाइकलले पैदलयात्री ७५ वर्षीया कृष्णमाया मगरलाई ठक्कर दिएको थियो । गम्भीर घाइते मगरलाई उपचारका लागि बकुलहर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मोटरसाइकल र चालक सगुन पण्डित प्रहरी नियन्त्रणमा छन् ।
चितवनको भरतपुर महानगरपालिका– १०, विशालचोकमा मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किँदा चारजना घाइते भएका छन् । दुर्घटनामा गोरखाका कमलबहादुर थापा, देवबहादुर थापा, भरतपुरका अनिल ढुंगाना र रोजी पौडेल घाइते भएका हुन् । घाइतेमध्ये देवबहादुर थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन् ।
उता, नुवाकोटको विदुर नगरपालिका– १०, भैँसेस्थित पासाङल्हामु सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक बुद्धिमान तामाङ घाइते भएका छन् । बा.८७प ७६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउकोमा चोट लागेका तामाङलाई उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।