त्यो जित, त्यो हार : केही गौरवका पल, केही पीडाका क्षण

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण
  • जितले खुसी दिन्छ, सम्मान दिलाउँछ, मानिसको माया दिलाउँछ । तर, जितसँगै घमन्ड पनि आउन सक्छ । धेरै खेलाडी स्टार बनेपछि ओभर कन्फिडेन्ट भएर हारेको देखेको छु । त्यसैले हार र जित दुवैलाई समान रूपमा लिनुपर्छ । हार्दा आत्तिनुहुँदैन, जित्दा मात्तिनुहुँदैन ।

राष्ट्रिय फुटबल टोलीमा झन्डै १५ वर्ष बिताएँ । यो अवधिको खेल जीवनमा थुप्रै हार–जित भए । केही खेलले मेरो जीवनमा महत्वपूर्ण छाप छाडेका छन् । हारले मेरा दर्शक र समर्थकलाई निराश बनाएको छ । ती सबै अहिले इतिहास भइसकेका छन् । तर, केही क्षण भने आज पनि मनमा गहिरो गरी बसेका छन् । केही गौरवका क्षण बनेका छन्, केही पीडादायी सम्झना पनि छन् । 

१५ दिनको अभ्यासले जितेको स्वर्णपदक 
खेल जीवनमा छोटो समयको तयारीले पनि प्रतियोगिता जितेको अनुभव छ । मेरो जीवनकै सबैभन्दा अविस्मरणीय क्षणमध्ये एक सन् १९९३ मा भएको छैटौँ दक्षिण एसियाली खेलकुद (साफ) हो । हामी पहिलो चरणबाट बाहिरिन्छौँ भन्ने थियो । त्यो प्रतियोगितामा हामी अत्यन्तै न्यून तयारीका साथ गएका थियौँ । त्यसवेला देशको खेलकुद अवस्था त्यति राम्रो थिएन । साफजस्तो प्रतियोगिताका लागि तयारी राम्रो थिएन । हाम्रो तयारीका लागि समय पनि जम्मा १५ दिनजति मात्र थियो । त्यसैले, धेरैलाई हामी पहिलो चरणमै बाहिरिन्छौँ भन्ने लागेको थियो । हाम्रो आत्मविश्वास पनि धेरै बलियो थिएन । हामी ढाका पुग्यौँ ।

पहिलो खेल घरेलु टोली बंगलादेशसँग थियो । त्यो समय बंगलादेश फुटबलमा व्यावसायिक रूपमा उच्च थियो । त्यहाँका खेलाडीले त्यो वेला लाखौँ (२४–२४ लाख) पारिश्रमिक पाउँथे । उनीहरूको तयारी उत्कृष्ट थियो, मलेसियामा ‘क्लोज क्याम्प’ राखेका थिए, घरेलु मैदानको साथ पनि थियो । उनीहरूले आफ्नो देशमै आयोजना भएको साफ गेम्स जित्छु भन्ने तयारीमा थिए । हामीले भने १५ दिनको तयारी गरेका थियौँ । जर्सी पनि त्यति राम्रो थिएन ।

त्यहाँ पुगेपछि हामीले एउटा आर्मी टोलीसँग मैत्रीपूर्ण खेल खेल्यौँ । उनीहरूसँग हामी हार्यौँ । त्यसपछि त बंगलादेशको टिमले ‘नेपाललाई हाम्रो राष्ट्रिय टोलीले सजिलै हराउँछ’ भन्न थालेका थिए । सिनियर र जुनियर खेलाडीबिच राम्रो समन्वय थियो । म त्यतिवेला १८–१९ वर्षको मात्र थिएँ । मणि शाह, राजुकाजी शाक्य, उमेश प्रधान, देवनारायण चौधरीजस्ता अनुभवी खेलाडी हाम्रो टिममा थिए । यद्यपि, तयारी धेरै थिएन । हामी खेलाडीबिच पनि हारिन्छ होला भन्ने थियो । ‘हाम्रो बेइज्जत हुने भयो’ भनेर कुराकानी हुन्थ्यो । तर, हाम्रो टोलीमा एकता र जोस थियो ।

टिममा मभन्दा सिनियर पनि हुनुहुन्थ्यो । सिनियरले हामीलाई हौसला दिनुहुन्थ्यो । हामी जोसका साथ मैदानमा उत्रियौँ । ढाकाको रंगशाला दर्शकले भरिएको थियो । खेलमा उनीहरू टेक्निकल रूपमा हामीभन्दा धेरै बलिया थिए । हामीलाई लगातार आक्रमण गरिरहेका थिए । मैले केही बल बचाएँ, केही बल पोलमा ठोक्किए । उनीहरूले हामीलाई लगातार प्रहार गरिरहे । तर, अचानक हाम्रो टिमबाट वसन्त गुरुङले गोल गरे । एक गोल खाएपछि उनीहरू आक्रामक रूपमा खेल्न थाले । त्यसपछि हामी पूर्ण रूपमा रक्षात्मक भयौँ । हामी सबै डिफेन्सिभ खेल्न थाल्यौँ । हामीले ९० मिनेटसम्म गोल जोगायौँ र बंगलादेशलाई हरायौँ । त्यो जित अप्रत्याशित थियो ।

त्यसपछि हामीले श्रीलंकालाई एक गोलले जित्यौँ । त्यसवेला ग्रुप फस्टले एकैचोटि फाइनल खेल्न पाउँथ्यो । त्यसपछि हामी फाइनलमा भारतसँग खेल्यौँ । भारत पनि उत्तिकै बलियो टिम थियो । खेल २–२ को बराबरीमा सकियो । अतिरिक्त समयपछि खेल टाइब्रेकरमा पुग्यो । मैले दुइटा प्रहार बचाएँ । नेपालले फुटबलमा ऐतिहासिक स्वर्णपदक जित्यो । नेपालले त्यतिवेला जितेको एक मात्र स्वर्णपदक थियो । देशको इज्जत फुटबलले जोगाएको अनुभूति भएको थियो । त्यो क्षण मेरो जीवनको सबैभन्दा ठुलो र अविस्मरणीय क्षण हो ।

घरेलु मैदानमा हार्दाको क्षण 
मेरो खेल जीवनमा अत्यन्त दुःखद क्षण पनि छ, त्यो हो आफ्नै घरेलु मैदानमा भएको आठौँ साफ गेम्स । त्यो प्रतियोगिताका लागि हाम्रो तयारी निकै राम्रो थियो । विदेशी प्रशिक्षक स्टेभन कन्सटाइन पनि थिए । नेपालमै आयोजना भएको आठौँ साफ गेम्स थियो । त्यसवेला माल्दिभ्सलाई सेमिफाइनलमा जितेर फाइनलसम्म पुग्यौँ । फाइनल बंगलादेशसँग थियो ।

तर दुर्भाग्यवश, मैले फाइनल खेल्न पाइनँ । सेमिफाइनलसम्म मैले थुप्रै बल रोकेँ । फाइनलसम्म पुर्याउन ठुलो योगदान दिएँ । त्यो पाकिस्तानविरुद्धको खेलमा एउटा ‘येल्लो कार्ड’ खाएको थिएँ । सेमिफाइनलमा माल्दिभ्सविरुद्ध खेल्दा फेरि अर्को येल्लो कार्ड पाएँ । किनभने, त्यो वेला जित्नैपर्ने दबाब थियो । हामीले एक गोलले लिड गरेका थियौँ । माल्दिभ्स आक्रामक रूपमा खेलिरहेको थियो । हामीले रणनीतिक रूपमा बल डिले गर्ने भन्ने सल्लाह गर्यौँ । मैले बल अलि डिले गरेको थिएँ । त्यसैले, गर्दा येल्लो कार्ड पाएँ । क्वालिफाई राउन्ड र सेमिफाइनलमा दुइटा येल्लो कार्ड खाएँ । टिम फाइनल पुग्यो । दुई येल्लो कार्ड भएपछि नियमअनुसार फाइनलका लागि निलम्बित भएँ । फाइनल खेल खेल्न पाइनँ । त्यो मेरो जीवनकै सबैभन्दा ठुलो पीडा हो । आफ्नै देश, आफ्नै मैदान, दशरथ रंगशालामा हजारौँ दर्शकबिच हुने फाइनल खेल मैले हेरेर बस्नुपर्यो । टिम पनि बंगलादेशसँग हार्यो । मलाई अझै लाग्छ– यदि म मैदानमा भएको भए सायद परिणाम फरक हुन सक्थ्यो । त्यो हारले मलाई व्यक्तिगत रूपमा निकै दुखायो । समर्थक पनि निराश भएका थिए । यो प्रतियोगिता जीवनमा कहिल्यै बिर्सन सक्दिनँ ।

हार्दा पनि खुसी
त्यसपछि पनि धेरै सम्झना छन् । सन् १९९८ विश्वकप छनोटअन्तर्गत जापानसँग टोकियोमा खेलेको खेल पनि विशेष छ । जापान त्यतिवेला विश्वकप खेल्नेस्तरको टोली थियो । हामी धेरै गोल खाने डरमा थियौँ । तर, हामीले निकै संघर्ष गर्नुपर्यो । अन्ततः ३–० ले मात्र हार्नुपर्यो । त्यो हार पनि हामीलाई जितजस्तै लागेको थियो । नेपाली समर्थक निकै खुसी भएका थिए ।

मेरो खेल जीवनमा घरेलु फुटबलमा पनि थुप्रै उपलब्धि छन् । थ्री स्टार क्लबबाट खेल्दा हामी लिग च्याम्पियन भयौँ । नेपालमा पहिलोपटक गाडी पुरस्कार पाउने खेलाडीमध्ये म पनि परेँ । त्यो पनि मेरो जीवनको ठुलो उपलब्धि हो ।

मेरो अनुभवमा फुटबलले मानिसलाई अनुशासन सिकाउँछ । हार र जित दुवै जीवनका महत्वपूर्ण पाठ हुन् । सुरुमा हार्दा जीवन नै सकिएजस्तो लाग्थ्यो । तर, पछि बुझियो, हारले सिकाउँछ, सुधार्ने मौका दिन्छ । हारले अर्को जितको बाटो खोलिदिन्छ ।

जितले खुसी दिन्छ, सम्मान दिलाउँछ, मानिसको माया दिलाउँछ । तर, जितसँगै घमण्ड पनि आउन सक्छ । धेरै खेलाडी स्टार बनेपछि ओभर कन्फिडेन्ट भएर हारेको देखेको छु । त्यसैले हार र जित दुवैलाई समान रूपमा लिनुपर्छ । हार्दा आत्तिनुहुँदैन, जित्दा मात्तिनुहुँदैन । निरन्तर मिहिनेत र अनुशासन नै खेलाडीको सबैभन्दा ठुलो शक्ति हो । 

(सिंह नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा पूर्वकप्तान हुन्)

See More On

सुझावित समाचार